मुम्बई (भारत) । मुम्बईको एक विशेष अदालतले शेयर बजारमा धोखाधडी र नियम उल्लंघनको आरोपमा शेयर बजार नियामक सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी)की पूर्वप्रमुख माधबी पुरी बुचसहित ६ जनाविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको छ ।
अदालतले भ्रष्टाचार निरोधक ब्यूरोलाई उक्त आदेश दिएको हो । उनीहरूविरुद्ध धोखाधडी गरेको आरोपमा एफआईआर दर्ता हुने भएको छ ।
शनिवार जारी एक आदेशमा विशेष अदालतका न्यायाधीश शशिकान्त एकनाथराव बांगरले उक्त घटनामा नियामक कमजोरी र मिलेमतोको सबुत भेटिएको भन्दै निष्पक्ष अनुसन्धानको आवश्यकता देखिएको उल्लेख गरेका छन् ।
अदालतले ब्युरोलाई ३० दिनभित्र उक्त घटनाको प्रतिवेदन बुझाउनसमेत भनेको छ । साथै अदालतले उक्त अनुसन्धानबारे निगरानी गर्नेसमेत जनाएको छ ।
सेबीमाथि मापदण्ड पूरा नगरेको एक कम्पनीलाई स्टक एक्सचेञ्जमा सूचीकरण गराएर कर्पाेरेट धोखाधडीका लागि बाटो खोलेको आरोप छ । उक्त कम्पनीको सूचीकरणका लागि सेबी अधिनियम, १९९२ को पालना नगरिएको दाबी गरिएको छ ।
त्यसबारे सम्बन्धित नियामक निकायहरूसँग सम्पर्क गर्दा पनि कुनै कारबाही नगरिएको रिट निवेदकको दाबी छ ।
बुचमाथि अमेरिकाको रिसर्च एण्ड इनभेस्टमेन्ट कम्पनी हिन्डेनबर्गले बुच र उनका पति धवल बुचमाथि विदेशमा ‘आफसोर फण्ड’मा लगानी गरेको आरोप लगाएको थियो ।
त्यसमा अडानी समूहका अध्यक्ष गौतम अडानीका दाइ विनोद अडानीले पनि लगानी गरेका थिए । तर, बुच दम्पत्तिले उक्त आरोपको खण्डन गरेका थिए । एजेन्सीको सहयोगमा