टोकियो/सोल (जापान/दक्षिण कोरिया) । जापानमा सन् २०२४ को जन्मदर अहिलेसम्मकै न्यून देखिएको छ ।
स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांक अनुसार सन् २०२४ मा विदेशी नागरिकहरू सहित जापानमा सात लाख २० हजार नौ सय ८८ शिशु जन्मिएका थिए । यो संख्या सरकारले सन् १८९९ मा तथ्यांक राख्न शुरु गरेयताकै सबैभन्दा कम हो ।
जापानमा सन् २०२३ मा भने सात लाख ५८ हजार छ सय ३१ शिशु जन्मिएका थिए । यो संख्याको तुलनामा सन् २०२४ मा जन्मिएका शिशुको संख्या पाँच प्रतिशतले कम हो ।
युवाहरूले विवाह गर्न ढिलाइ गर्दा जन्मदरको रेकर्ड फेरि न्यून भएको बताइएको छ ।
सन् १९७३ मा जापानमा २१ लाख बच्चा जन्मिएका थिए ।
जन्मदर घट्नुको रेकर्डले विश्वको चौथो ठूलो अर्थतन्त्रले सामना गर्दै गरेको जनसांख्यिकीय चुनौती देखाएको छ ।
जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसंख्याको हेरचाहको लागत वहन गर्नुपर्ने भएको छ ।
जापानको कुल जनसंख्या यस महीना १२ करोड ३५ लाख ४० हजार पुगेको आन्तरिक मामिला मन्त्रालयको गत हप्ताको तथ्याङ्कले देखाएको छ । यो एक वर्ष अघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो ।
जापानी प्रधानमन्त्री शिगेरु इशिबाले जनसंख्या संकटको सामना गर्नु आफ्नो शीर्ष प्राथमिकतामध्ये एक रहेको बताएका छन् ।
तर, शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई विवाह गर्न निरुत्साहित गरेको छ ।
दक्षिण कोरियामा भने ९ वर्षपछि बढ्यो
दक्षिण कोरियामा भने ९ वर्षपछि पहिलो पटक जन्मदर बढेको छ । विवाहमा वृद्धि भएसँगै त्यहाँ जन्मदर बढेको बताइएको छ ।
सरकारी तथ्यांकअनुसार सन् २०२४ मा दक्षिण कोरियाको जन्मदर ०.७५ छ । सन् २०१५ मा १.२४ रहेको जन्मदर लगातार आठौं वर्ष घटेर सन् २०२३ मा ०.७२ पुगेको थियो । सन् २०१८ देखि त्यहाँको जन्मदर १ भन्दा कम छ ।
जन्मदर यति तीव्र गतिमा घट्दा समाजमा आर्थिक झट्का पर्ने चिन्ता बढेको छ ।
अर्गनाइजेसन फर इकोनमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)का सदस्य देशहरूमध्ये दक्षिण कोरिया १ भन्दा कम जन्मदर भएको एक मात्र देश बनेको छ ।
‘विवाह र बच्चा जन्माउने बारेमा सामाजिक मूल्यमा परिवर्तन आएको छ,’ पार्क ह्यून–जुङ, तथ्याङ्क कोरियाका एक अधिकारीले भने । उनले ३० वर्षका व्यक्तिहरूको संख्या बढेको र महामारीका कारण उनीहरूको विवाहमा ढिलाइ भएको बताए ।
जन्मदर घट्न थालेपछि अहिले महाभियोग लागेका राष्ट्रपति युन सुक योलले ‘राष्ट्रिय जनसांख्यिकीय संकट’ घोषणा गरेका थिए । कम जन्मदरको समस्या समाधान गर्न नयाँ मन्त्रालय स्थापना गर्ने योजना बनाएका थिए ।
दक्षिण कोरियाले जन्मदर बढाउन विभिन्न उपायहरू अपनाएको छ, जसले युवाहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहित गरेको छ । एजेन्सीहरूको सहयोगमा