काठमाडौं । जर्मनीमा सम्पन्न संसदीय चुनावमा रुढीवादी पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो दल बनेको छ ।
अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार सीडीयू गठबन्धनले २८.५ प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।
आइतवार सम्पन्न चुनावमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले २०.६ प्रतिशत मत पाएको छ । यसैगरी समाजवादी पार्टी (एसपीडी)ले १६.४ प्रतिशत मत पाएको छ ।
जर्मनीमा संसदीय चुनावका लागि मतदान जारी
चुनावबाट सबैभन्दा ठूलो दल बनेसँगै सीडीयू नेता फ्रेडरिक मर्ज चान्सलर बन्ने तयारीमा देखिएका छन् ।
सीडीयूले सरकार बनाउनका लागि अन्य दलसँग गठबन्धन गर्नुपर्ने भएको छ । तर, उसलाई गठबन्धन गर्नका लागि चुनौती देखिएको छ ।
मर्जले एएफडीसँग कुनै पनि प्रकारको गठबन्धन नगर्ने बताएका छन् । उनले आफ्नो पार्टीका नीति एएफडीसँग मेल नखाने भन्दै सहकार्य नगर्ने बताएका हुन् । अन्य दलहरूले पनि एएफडीसँग सहकार्य नगर्ने जनाएका छन् ।
यस्तोमा सरकार बनाउनका लागि संसदमा ५० प्रतिशतभन्दा बढी सिट पुर्याउन चुनौती हुने देखिन्छ ।
विश्लेषकहरूका अनुसार, १६.४ प्रतिशत मत पाएको समाजवादी पार्टी (एसपीडी) सँग गठबन्धन गर्ने सम्भावना देखिए पनि वैचारिक भिन्नताका कारण वार्ता कठिन हुन सक्ने अनुमान छ ।