काठमाडौं । जर्मनीमा संसदीय निर्वाचनअन्तर्गत आइतवार (आज) मतदान भइरहेको छ ।
बुन्डस्टाक भनिने जर्मनीको संसदमा ६३० सांसद चुन्नका लागि मतदान भइरहेको हो । मिश्रित निर्वाचन प्रणाली अपनाइने चुनावमा प्रत्यक्षतर्फ २९९ सांसद चुनिनेछन् । बाँकी ३३१ सांसद भने दलले पाएको मतका आधारमा छानिनेछन् ।
प्रत्यक्षतर्फको चुनावका लागि देशका २९९ निर्वाचन क्षेत्रबाट ४ हजार ५०६ जनाले उम्मेदवारी दिएका छन् ।
जर्मनीमा आगामी सेप्टेम्बरमा हुने भनिएको चुनाव समयअगावै भएको हो । गत डिसेम्बरमा चान्सलर ओलाफ स्कोल्ज नेतृत्वको गठबन्धन सरकार ढलेपछि त्यहाँ तोकिएको समयभन्दा ७ महीनाअगाडि चुनाव भएको हो ।
गत डिसेम्बरमा आफूविरुद्ध संसदमा अविश्वास प्रस्ताव पारित भएपछि चान्सलर स्कोल्जले राजीनामा दिएका थिए । उक्त प्रस्तावको पक्षमा ३९४ र विपक्षमा २०७ मत परेको थियो ।
त्यहाँको कानूनअनुसार चान्सलरले राजीनामा दिएको ६० दिनभित्र चुनाव गराउनुपर्ने व्यवस्था छ ।
युरोपेली संघ (ईयू)को सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी पछिल्लो समय बिग्रदो आर्थिक अवस्था, अवैध आप्रवासनजस्ता चुनौतीको सामना गरिरहेको छ । यस्तोमा चुनावको नतिजा देशको भविष्यका लागि अहम हुने देखिन्छ ।
चुनावमा अल्टरनेटिभ फर जर्मनी (एएफडी), क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) तथा उसको सहयोगी पार्टी क्रिश्चियन सोशल युनियन (सीएसयू), सोशल डेमोक्रेट्स (एसपीडी), ग्रिन्स पार्टी, फ्री डेमोक्रेट्स पार्टी (एफडीपी)लगायतले प्रतिस्पर्धा गरिरहेका छन् ।
जर्मनीमा ५ करोड ९२ लाख मानिस मतदानका लागि योग्य छन् । जसमध्ये दशौं लाखले चुनावको दिनअघि नै हुलाकमार्फत् आफ्नो मत व्यक्त गरिसकेका छन् ।
संसद्ममा पुग्न यस्तो छ प्रावधान
बुन्डस्टाक भनिने जर्मनीको संसद्मा प्रवेश गर्नको लागि प्रत्यक्षतर्फका तीन निर्वाचन क्षेत्र जित्नुपर्ने वा राष्ट्रिय दोस्रो मतको पाँच प्रतिशत प्राप्त गर्नुपर्छ । पार्टीले पाएको दोस्रो मतको आधारमा सिटहरू बाँडफाँड गरिन्छ ।
को–को छन् चान्सलरको दौडमा ?
जर्मनीमा चान्सलरको दौडमा सीडीयूका फ्रेडरिक मेर्ज सबैभन्दा अगाडि देखिएका छन् । गत शुक्रवार गरिएको एक सर्वेक्षणमा सीडीयू र सीएसयूले सबैभन्दा बढी भोट पाउने आँकलन गरिएको छ ।
यस्तै, अर्थव्यवस्था तथा जलवायुमन्त्री एवं ग्रिन पार्टीका रोवर्ट हेबेक पनि चान्सलरको दौडमा देखिएका छन् । एएफडीका ऐलिस वेइडेललाई भने चान्सलरको उम्मेदवार घोषणा गरिएको छ ।
गत डिसेम्बरमा चान्सलरबाट राजीनामा दिएका ओलाफ स्कोल्ज पनि दोस्रो पटक चान्सलर बन्नका लागि प्रतिस्पर्धा गर्ने देखिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चुनावी नतिजाबारे के भन्छ सर्वेक्षण ?
फोर्सा इन्स्ट्च्यिुटले शुक्रवार गरेको सर्वेक्षणअनुसार, सीडीयू तथा सीएसयूलाई २९ प्रतिशतले समर्थन गरेका छन् । यस्तै, सुदूर दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी)लाई २१ प्रतिशत र चान्सलर ओलाफ स्कोल्जको एसपीडीलाई १५ प्रतिशतको समर्थन मिलेको छ ।
चुनावको दुई दिनअघिसम्म २२ प्रतिशत मतदाताले आफूले कसलाई भोट दिनेबारे अनिश्चित रहेको बताएका छन् । एजेन्सीको सहयोगमा