काठमाडौं । प्रभु ग्रुप्सको लगानी रहेको प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद शेयर बोलपत्रमा अन्तिम मूल्य (कट अफ प्राइस) कायम गरेको छ ।
कम्पनीले जारी गरेको हकप्रद शेयर विक्रीपछि बाँकी रहेको शेयर प्रतिकित्ता रू. १०० भन्दामाथि लिलाम बढाबढमा २१ लाख १५ हजार १० कित्ता शेयरको लागि शिलबन्दी बोलपत्र प्रकृयाद्वारा विक्रीका लागि माघ २७ देखि फागुन ११ गतेभित्र आवेदन माग गरेको थियो ।
सो अवधिभित्र प्राप्त भएका बोलपत्र खोल्दा अन्तिम मूल्य (कटअफ प्राइस) रू. १२५ कायम भएको बताइएको छ । बोलपत्रमा अधिकतम रू. १५१ दशमलव ५० देखि कट अफ प्राइस प्रति शेयर रू. १२५ मा आवेदन गर्नेले शेयर प्राप्त गर्नेछन् । उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।
सो लिलामीको शेयरमा रू. १२५ देखि अधिक मूल्य राखी आवेदन दिने शेयरधनीले मात्र लिलामीको सो संस्थापक शेयर प्राप्त गरेको बताइएको छ । लिलामीमा सहभागी आवेदकको बाँडफाँटमा नपरेको शेयर बापतको रकम फागुन २७ गते मंगलवारदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ ।
सो हकप्रदबाट उठेको रकमले सुदूरपश्चिममा रहेको बडीमालिका मन्दिरमा जाने र चितवनको ईच्छाकामना मन्दिरमा जाने केबलकार परियोजनाको प्रारम्भिक कार्य अघि बढाउने तयारी गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको लगानीमा पाल्पाको नुवाकोटसम्म जाने सिद्धार्थ केबलकार परियोजना सम्पन्न भई सकेको छ ।