काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हतोत्साही बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शृंखलावद्ध रूपमा स्पष्टीकरण मागेको आरोप लगाएका छन् ।
ऊर्जामन्त्री खड्काले सोधेको स्पष्टीकरणको जवाफ दिँदै कार्यकारी निर्देशक घिसिङले उक्त आरोप लगाएका हुन् ।
‘मन्त्रिपरिषदको निर्णयले नेपालको ऊर्जाक्षेत्रको दिगो विकासको लागि विद्युत प्राधिकरणको नेतृत्व प्राप्त गरी राष्ट्र विकासमा योगदान गर्न दिइएको जिम्मेवारीबाट अनुप्राणित भइ कार्य गरिआएको छु। यस अवस्थामा मलाइ हतोत्साहित गराउने उद्देश्यले श्रृङ्खलाबद्ध स्पष्टीकरण, विवरण एवम् कागजात माग गर्ने, गर्न लगाउने लगायतका क्रियाकलापहरू भइरहेता पनि त्यस्ता क्रियाकलापहरुबाट किन्चित् विचलित नभइ नेपाल सरकारले दिएको जिम्मेबारी अत्यन्त लगन र निष्ठाका साथ पूरा गरी रहेको छु,’ उनले पठाएको स्पष्टीकरणमा उल्लेख छ ।
यसअघि पेश भएको स्पष्टीकरण वस्तुनिष्ट र सन्तोषजनक नभएको भन्दै ऊर्जामन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङसँग गत मंगलवार २४ घन्टे स्पष्टीकरण सोधेका थिए । योसँगै ऊर्जामन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई चौथोपटक स्पष्टीकरण सोधेका हुन् ।
कार्यकारी निर्देशक घिसिङले भने आफू मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएकाले सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको बताएका छन् ।
साथै उनले आफ्नो पूर्वस्पष्टीकरण के–कति कारणले चित्तबुझ्दो नभएको भन्दै उल्टै प्रश्न गरेका छन् । साथै उनले आफूसँग स्पष्टीकरण माग्ने आधार र कारण पनि नखुलेको दाबी गरेका छन् । साथै उनले आफूमाथि लगाइएका आरोपहरू मनोगत भएको आरोप लगाएका छन् ।
ऊर्जामन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङबीच लामो समयदेखि शितयुद्ध चलिरहेको छ ।