काठमाडौं । भारतका विभिन्न राज्यमा फैलिएको फ्लु (एभियन इन्फ्लुएन्जा) नेपालको सीमावर्ती बिहारमा पनि फैलिएपछि नेपालमा पनि यसको जोखिम बढेको छ ।
नेपाल र भारतबीच खुला सीमा रहेको कारण सीमावर्ती बजारहरूमा हुने पोल्ट्रीजन्य वस्तुको अवैध ओसारपसारले गर्दा नेपालसमेत उच्च जोखिममा रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।
नेपालमा पनि संक्रमण फैलिएमा मुलुक आत्मनिर्भर भएको पोल्ट्री उद्योगले ठूलो घाटा बेहोर्नुपर्ने हुन सक्ने सरकारी अधिकारीहरूको भनाइ छ । यो उद्योगमा १६० अर्ब रुपैयाँभन्दा बढी लगानी छ भने यसले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ४ प्रतिशतसम्म योगदान गरेको सरकारी तथ्यांक छ ।
यद्यपि पछिल्लो केही वर्षदेखि कच्चा पदार्थको उच्च मूल्यवृद्धिलगायत कारण ठूलो संख्यामा कुखुरापालक किसान पलायन हुने क्रम जारी छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत जनवरीदेखि भारतको पञ्जाब, झारखण्ड, तेलांगाना, महाराष्ट्र, आन्ध्रप्रदेश, मध्यप्रदेश लगायत राज्यमा फैलिएको प्रकोपका कारण त्यहाँको सरकारले हजारौंको संख्यामा कुखुरा, हाँस र अण्डाहरू नष्ट गरेको छ । बिहारमा पनि बर्डफ्लु देखिएपछि केही कुखुरा नष्ट गरिएका छन् ।
पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालले भारतमा फैलिएको प्रकोपका कारण नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको बताए । उनका अनुसार यही फागुन पहिलो साता सुनसरीको कोशी गाउँपालिकास्थित एक किसानको हाँस फार्ममा पनि बर्डफ्लु संक्रमण पुष्टि भइसकेको छ । अहिले उक्त स्थानमा देखिएको बर्डफ्लु नियन्त्रणमा आइसकेको उनले बताए ।
विभागका अनुसार केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालाले गत फागुन २ मा नमूना परीक्षण गरी कोशीमा बर्डफ्लु पुष्टि भएको जानकारी दिएको थियो । लगत्तै काठमाडौंबाट गएको विभागको विज्ञ टोलीले उक्त फार्मलाई सिल गरेर ४४३ ओटा हाँस, २ ओटा लोकल कुखुरा, २ ओटा परेवा, १० केजी कुखुराको दाना र २० बोरा कुखुराको सुली नष्ट गरेको थियो ।
अहिले कोशीको अवस्था समान्य भए पनि भारतका विभिन्न राज्यमा प्रकोपकै रूपमा फैलिरहेकाले नेपाल पनि जोखिममा रहेकाले सबैले सावधानी अपनाउनु जरुरी रहेको उपमहानिर्देशक दाहालले आर्थिक अभियानसँग बताए ।
‘विभागको नेतृत्वमा तराईका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको अध्यक्षतामा बैठक बसेर चोरीपैठारी नियन्त्रणका लागि टोली परिचालन गरिएको छ,’ उनले भने, ‘साथै चोरीपैठारीबाट भित्रिन सक्ने प्रकोप नियन्त्रणका लागि विभागकै नेतृत्वमा सीमावर्ती क्षेत्रमा २२ ओटा क्वारेन्टाइन केन्द्रसमेत स्थापना गरिएको छ ।’ जोखिम बढेको भन्दै विभागको स्वीकृतिमा हवाईमार्ग हुँदै ल्याइने प्यारेन्ट चल्लाबाहेक अन्य पशुपन्छीजन्य वस्तु भारतबाट भित्त्याउन रोक लगाइएको छ ।
नेपाल पोल्ट्री उद्योग महासंघका महासचिव दिनेशराज मिश्रले पनि भारतमा देखिएको प्रकोपका कारण नेपाल पनि यति बेला उच्च जोखिममा रहेको बताए ।
खुल्लाका सिमानाका कारण हुने कुखुरा, सेतो अण्डा र काँचो मासुको अवैध ओसारपसारका कारण जोखिम झनै बढेको उनको भनाइ छ । महासंघले यो रोक्न तराईका विभिन्न जिल्लाका स्थानीय निकाय, प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयलाई समेत नाकामा कडाइ गर्न अनुरोध गरेको उनले बताए ।
भारतमा प्राय: कुखुरामा बर्डफ्लु, रानीखेत जस्ता रोगको संक्रमण भइरहने कारणले गर्दा त्यसको प्रत्यक्ष मारमा नेपाली व्यवसायी रहेकोले खुला सिमानाबाट हुने अवैध ओसारपसारमा सधैं कडाइ गर्नुपर्ने उनले बताए । विशेष गरी भारतबाट केराउ, आलु चिप्सजस्ता वस्तु ल्याउने नाममा भन्सार छलेर कुखुराको ओसारपसार हुने गरेको छ ।
के हो बर्डफ्लु ?
एभियन इन्फ्लुएन्जालाई सामान्यतया बर्डफ्लू भनिन्छ । यो एक भाइरल संक्रमण हो जुन चरा, गाई र अन्य जनावरमा फैलिन्छ । विभागका अनुसार बर्डफ्लू विश्वभरका जंगली चराहरूमा व्यापक छ । यसले कुखुरा र अमेरिकी दुधालु गाईहरूमा प्रकोप निम्त्याइरहेको छ । हालै अमेरिकी डेरी र कुखुरा कामदारहरूमा समेत बर्डफ्लु देखापरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।
कस्तो हुन्छ लक्षण ?
यो रोग लागेका पन्छीले खाना खान छोड्छन् । पन्छी घ्यारघ्यार गर्ने, टाउको सुन्निने, सिउँर र लोतीहरू नीलो हुने हुन्छ । रक्तास्रावले खुट्टाहरूमा नीलो डाम देखापर्ने, झोक्राएर बस्ने र हरियो सुली छेर्ने गर्छ ।