काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा उत्पन्न तनावपछि ‘निष्कासित’ नेपाली विद्यार्थीलाई कलेजले फर्कन अपिल गरेको छ ।
चौतर्फी दबाबपछि कलेजले ती विद्यार्थीहरूलाई फर्कन अपिल गरेको हो । ‘कलेज छाड्ने वा योजना बनाउने हाम्रा सबै नेपाली विद्यार्थीहरूलाई फर्केर कक्षामा सहभागी हुन अनुरोध गरिन्छ,’ कलेजले आज जारी गरेको अपिलमा उल्लेख छ ।
कलेजमा बीटेक तेस्रो वर्षमा अध्ययरत प्रकृति लम्साल आइतवार राति मृत फेला परेपछि नेपाली विद्यार्थी प्रदर्शनमा उत्रिएका थिए, जसका कारण छात्रावासमा तनाव उत्पन्न भएको थियो । त्यसपछि उनीहरूलाई छात्रवासले ‘निष्कासित’ गरेको थियो । उनीहरूलाई सोमवार (आज)सम्म छात्रावास छाड्न भनिएको थियो ।
छात्रावासबाट विद्यार्थी निकालिएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई सोही संस्थाकै छात्रावासमा बस्ने वातावरण बनाउन केआईआईटीका रजिष्टारसँग छलफल गर्याे ।
त्यसपछि केआईआईटी नेपाली विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूको लागि कक्षा सञ्चालनको व्यवस्था गर्न सहमत भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनाबारे भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरूबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको दूतावासले जानकारी दिएको छ ।
आत्महत्या गरेको कलेजको दाबी
घटनापछि कलेजले जारी गरेको प्रेस विज्ञप्तिमा ती छात्राले आत्महत्या गरेको उल्लेख छ । ती छात्रा एक विद्यार्थीसँग प्रेम सम्बन्धमा रहेको उनका साथीहरूबाट खुलेको कलेजको दाबी छ ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको कलेजले जानकारी दिएको छ ।
‘घटनाबारे कूटनीतिक तवरले बुझ्दैछौं’
यसैबीच, प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल फेसबुकको अकाउन्टमार्फत उक्त घटनाबारे कूटनीतिक तवरले बुझिरहेको जानकारी दिएका छन् ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्च्यिुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमाफर्तत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ,’ ओलीले फेसबुकमा गरेको पोस्टमा उल्लेख छ ।