भोजपुर । जिल्लाका किसानले अकबरे खुसार्नी प्रशोधन केन्द्र स्थापनाको माग गरेका छन् । उत्पादित खुसार्नीलाई यहि नै प्रशोधन गरेर बाह्य बजार पठाउन सक्ने वातावरण बनाउनका लागि किसानले प्रशोधन केन्द्रको माग गरेका हुन् । कृषि ज्ञान केन्द्रले सरोकारवाला पक्षसँग खुर्सानी खेतीमा देखिएका समस्या, खुर्सानी खेतीको सम्भवना र बजारीकरण विषयमा छलफल गरेको हो । छलफलका क्रममा किसानले यहाँ नै प्रशोधन केन्द्र स्थापनासँगै खुर्सानीमा देखिएका रोगका नियन्त्रणमा सहयोग गर्नु पर्ने माग गरेका हुन् ।
किसानले प्रशोधन केन्द्रको माग गरेपछि अकबरे (डल्ले)खुर्सानीलाई गुणस्तरियढंगले भण्डारण तथा विभिन्न परिकार बनाएर आन्तरिक तथा बाह्य बजारमा पठाउने लक्ष्यले कृषि ज्ञान केन्द्र भोजपुरले यहाँ प्रशोधन केन्द्र स्थापनाको लागि पहल थालेका जनाएको छ । प्रशोधन केन्द्र स्थापनाको लागि कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा कार्यक्रम माग गरेर पठाएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
अधिकांश किसानको मुख्य आम्दानीको श्रोतको रुपमा रहेको अकबरे खुर्सानीको प्रवर्द्धन तथा विकास गर्न आवश्यक रहेको जनप्रतिनिधिहरूले बताएका छन् । खुर्सानी किसानहरूको ठूलो आवश्यकताको रुपमा रहेको खुर्सानी प्रशोधन केन्द्र स्थापनाको लागि स्थानीय सरकारले पनि आवश्यक पहल कदमी गर्ने बताएका छन् ।
किसानले उत्पादन गरेका सवै खालका कृषि उपजको बजारीकरणमा सहयोग गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ । यसको लागि स्थानीय तहले आवश्यक सहयोग गर्न आवश्यक गर्नु पर्ने शाखाको भनाइ छ ।
अकबरे खुर्सानी बढी खेती हुने पौवादुङमा, टेम्केमैयुङ, अरुण गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाका अगुवा खुर्सानी कृषकले प्रशोधन केन्द्र आवश्यकता रहेको बताएका हुन् । भोजपुरमा करिव छ सय हेक्टर क्षेत्रमा व्यावसायिक रुपमा खुर्सानी खेती भईरहेको कार्यालयले जनाएको छ । आगमी दिनमा क्षेत्र अझ विस्तार हुने कार्यालय को भनाइ छ ।