जनकपुरधाम। मधेश प्रदेश प्रहरीले भन्सार छलीका सामानबाट चालू आर्थिक वर्ष २०८०/८१ को ७ महीनामा रू. ७८ करोड ७६ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । मधेश प्रदेशका आठओटै जिल्लाका सीमानाकाबाट भन्सार छलेर ल्याइएका सामानबाट उक्त परिमाणमा राजस्व असुल गरिएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख (प्रहरी उपरीक्षक) श्याम महतोले जानकारी दिए ।
प्रहरीका अनुसार धनुषाबाट रू. ३ करोड २३ लाख १४ हजार, महोत्तरीबाट रू. ६ करोड १३ लाख १० हजार, सिरहाबाट रू. १ करोड ७२ लाख ८६ हजार र सप्तरीबाट रू. १ करोड ७४ लाख ५० हजार राजस्व संकलन गरिएको छ । यसैगरी सर्लाहीबाट रू. ४ करोड ७१ लाख ७२ हजार, रौतहटबाट रू. ३ करोड ७ लाख ९४ हजार, बाराबाट रू. ३० करोड ७८ लाख १९ हजार र पर्साबाट रू. २७ करोड ३५ लाख ३० हजार राजस्व भन्सार छलीका सामानबाट संकलन भएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए । तस्करले भन्सार छलेर ल्याएका सामान जफत गरी कारबाही गर्दा उक्त राजस्व संकलन भएको उनले बताए । भन्सार छलेर भित्त्याइएका सामानमा विद्युतीय सामग्री,
सवारीसाधनका पार्टपुर्जा, लत्ताकपडा, शृंगारका वस्तु, चाँदी लगायत रहेका छन् । सीमानाकाहरूमा मधेश प्रदेश प्रहरीको सक्रियताले यस वर्ष जनकपुर भन्सार कार्यालयको राजस्व गतवर्षको तुलनामा बढेको पाइएको छ । मधेश प्रदेशमा तस्करी रोक्न सीमानाकाहरूमा प्रहरी गस्ती कडाइका साथ परिचालन गरिएको प्रहरी उपरीक्षक श्याम महतोले बताए ।