भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्यौली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो ।
हतुवागढी–६, लङ्खाका ७५, विथाराका १६५, लुम्बुवाका १३५ तथा हतुवागढी–५ सोया गाउँका करीब ४० परिवारले व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई भदौ, असोज र कात्तिकमा नाङ्लो बढी उत्पादन हुने गरेको बताउँछन् । दशैं, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उनको भनाइ छ ।
यहाँ उत्पादन भएको नाङ्लो विक्रीका लागि जिल्लाबाहिर पठाउने गरिएको छ । महीनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताए । एउटा नाङ्लो औसतमा रू. १०० देखि रू. १५० सम्ममा खरीदविक्री हुने गरेको उनले बताए ।
‘हाम्रो गाउँका अधिकांशले नाङ्लो बुन्दै आएका छन्,’ राईले भने, ‘हाम्रो आम्दानीको मुख्य स्रोत नाङ्लो हो । सबै जना मिलेर यहाँ उत्पादन भएको नाङ्लो सङ्कलन गरेर बाहिरका बजारमा पठाउँछौं । सरदरमा एक महीनामा १९ हजारदेखि २१ हजारसम्म नाङ्लो बजारमा पठाउने गरेका छौं ।’
महीनामा रू. २१ लाख बराबरको नाङ्लो विक्री हुने गरेको उनले बताए । उनका अनुसार नाङ्लो विक्रीबाट वार्षिकरूपमा गाउँमा रू. दुई करोडदेखि साढे दुई करोडको हाराहारीमा रकम भित्रिने गरेको छ । यहाँका एउटा परिवारले मासिकरूपमा १५० देखि ३०० ओटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन् ।
चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ । यहाँ बनाइएको नाङ्लो धरान, विराटनगर, इटहरीलगायत सहरमा विक्री हुन्छ । चाडबाडका समयमा नाङ्लोको माग बढी हुन्छ । नाङ्लो व्यवसायी प्रकाश राई यसलाई थप व्यावसायिक बनाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताउँछन् ।
नाङ्लो बुनेर घर खर्च चलाउँदै आएका पूजा राईले आफ्ना घरका सबैजनाले नाङ्लो बुन्ने गरेको बताए । एक महीनामा १५० नाङ्लो बुन्ने गरेको उनले बताए । नाङ्लो विक्रीबाट वार्षिक रू. दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । ‘नाङ्लो घरबाटै रू ११० मा विक्री हुन्छ,’ उनले भने– ‘हामी घरका सबै सदस्य मिलेर नाङ्लो बुन्छौं, आम्दानीको स्रोत नै यही हो । खेतबारी थोरै छ । प्रायः सबैले व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका छौं ।’ रासस