भ्रष्टाचार कसरी गरिन्छ र त्यसले कति मूल्यको भ्रष्टाचार गर्यो भन्ने मापनभन्दा पनि त्यसको नकारात्मक असर घातक हुन्छ । त्यसले देखाउने दीर्घकालीन असर ज्यादै नै पीडादायी हुन्छ । भ्रष्टलाई बचाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत आरोपीलाई आसनग्रहण गराइन्छ । यस्तै गैरनैतिकताको बोलबालाले गर्दा इमानदारीको मूल्य ह्रास हुन्छ र फटाहाहरू मौलाउँदै जान्छन् ।
जति बेला धर्मले नै यो संसार चलेको छ, पाप गर्नेहरू पापकुण्डमा डुबुल्की मार्न पुग्छन् भन्ने विषयको त्रास थियो मानिस पाप गर्न डराउँथे भन्ने भ्रम हामीमा छ । भ्रष्टाचारलाई पापको परिभाषाभित्र राखिएको थियो र पनि कथा, पुराण र इतिहास हेर्दा पहिलेको जमाना अहिलेको भन्दा कहालीलाग्दो थियो । पत्रपत्रिका थिएन, शासकहरूले अनेक सुखसयल गरेका उदाहरण हेर्दा भ्रष्टाचारविना त्यस्तो ऐश्वर्य भोग कसरी गर्न सके भन्ने प्रश्न उठ्छ । पापधर्मको डर पनि गरीबलाई तसार्उने औजार थियो र आजका कानून पनि गरीबलाई मात्र तर्साउन प्रयोग भएको देखिन्छ ।
चन्द्रशमशेरले सिंहदरबार बनाउँदा जनताको श्रमशोषण गरेको र पछि त्यो दरबार राज्यलाई बेच्दा कमाएको रकम हेर्दा भ्रष्टाचारलाई त्यति बेला पनि नियन्त्रण गरिएजस्तो लाग्दैन । रोमन सम्राट् जुलियस सिजर छोरा अगस्तस, सिजरकी पत्नी क्लियोपेट्राको सम्बन्ध र व्यवहारलाई हेर्ने हो भने शक्ति भ्रष्टाचारमा पहिलाका पहुँचवाला पनि लिप्त थिए आजका पनि छन् । इथिकको रूपमा विगतलाई अति नै पापरहित र भ्रष्टतारहित देखाइए तापनि प्राय: शासक र सामन्तले रैती शोषण र यौनको मामिलामा कहिल्यै पनि शुद्धता देखाएको पाइँदैन । कानूनले राज गरेको अवस्थामा भ्रष्टाचार केही हदसम्म नियन्त्रित हुनुपर्ने हो । दण्डसंहिताले सामन्त र राजशाहीबाहेक अरू धेरैलाई भ्रष्टाचार गर्नबाट रोक्न सक्छ भन्ने मान्यतामा कडा कानून बनाइए तापनि भ्रष्टाचार रोकिएको छैन । कानूनले एकातिर रोक्न खोज्छ, भ्रष्टाचारको नयाँ प्रजाति आइसक्छ ।
भ्रष्टाचारको इतिहासलाई मितिको आधार पुष्टि गर्न सम्भव छैन । संसारमा सबैभन्दा पहिला भ्रष्टाचार कसले गर्यो भन्नेबारे तिथिमिति तोक्न सकिँदैन । केही मानिस पञ्चायत वा त्योभन्दा अगाडि भ्रष्टाचार थिएन जस्तो कुभाष्य स्थापित गर्न खोज्छन् । पञ्चायतको समयमा अख्तियारप्राप्त वर्गले मजाले भ्रष्टाचार गथ्र्याे । त्यसको खोजी गर्ने अहिलेको जस्तो निकाय थिएन । स्वतन्त्र पत्रकारिताको डर पनि थिएन र सञ्चार संस्थाले बार्गेनिङ गरेर भ्रष्टाचार लुकाउने वा देखाउने अवस्था पनि थिएन । तैपनि अहिले जस्तो उदाङ्गो नभएर ढोका लगाएर गरिन्थ्यो ।
कोरोना भाइरसले जसरी आफ्नो प्रजाति बदलेको थियो । त्यसैगरी अहिलेको भ्रष्टाचारले पनि आफ्नो प्रजाति परिवर्तन गरेको छ । भ्रष्टाचारको पहिलो प्रजातिमा सहमतीय प्रणालीले भ्रष्टाचार गर्ने त्यसको सानोसानो अंश सरोकारवाला सबैलाई दिने जसले गर्दा कुरा बाहिर आउँदैन । केही समयअगाडि जग्गा दलाली गर्नेले आफ्नो भागमा आएको कमिशन एकआपसमा सबैलाई बाँड्दथे । जस्तै जग्गामा लगानी गर्ने, बेच्ने, ग्राहक खोज्ने, जग्गा देखाउने सबैलाई उसको कामको आधारमा भाग लगाइन्थ्यो । यही प्रणाली नेपालको कर्मचारीतन्त्र र शासकीय पक्षबीच मौलाउँदै गएको छ । यो प्रजाति आधुनिकमध्येको पहिलो हो ।
यो जनआन्दोलपछिको प्रजाति हो । यसमा भ्रष्टहरू तनावरहित हुनका लागि भ्रष्टाचारमा सहमतीय प्रणाली विकास गरेका छन् । विभिन्न पद यही तरीकाले बाँडफाँट गरिन्छ, पार्टीगत कोटाबाट भिसी, रेक्टर, सचिवसम्म बाँडिन्छ । यो सहमतीय प्रणालीबाट पनि आशातीत रकम कुम्ल्याउन नसकिने भएपछि पछिल्ला दिनमा नीतिगत भ्रष्टाचारको जालो फालिएको छ । यो जालो सबैभन्दा डरलाग्दो हुन्छ ।
माथिका तरीकामा कम्तीमा आलोचना गर्ने ठाउँ त बाँकी हुन्थ्यो, नीतिगत भ्रष्टाचारमा त्यो पनि बाँकी रहँदैन । अहिलेको अवस्था किन विकराल छ भने नेतृत्वले केही गरेभैंm देखाएर सामाजिक सञ्जालमा आफ्नो लोकप्रियता पनि देखाउन चाहेको छ । मौका परेमा रकम कुम्ल्याएर भविष्यलाई सम्पन्न बनाउन पनि चाहेको छ । यही दोहोरो मापदण्डको होड देशका लागि खतरनाक बनेको छ । प्रत्येक खराब मानिस आफूलाई स्वच्छ, अभ्रष्ट र सदाचारी बन्न चाहेको देखिँदैन । भ्रष्टाचार गरे पनि कसैले यो कुरा थाहा नपाओस्, घटना गोप्य रहोस् भन्नेमात्र चाहेको छ । केबल स्टन्ट गर्ने व्यक्तिमात्र उचाइमा पुग्ने तर वास्तविक रूपमा काम गर्ने मानिस ओझेलमा पर्ने परिपाटी पनि देशका लागि नराम्रो बन्दै गएको छ ।
कानूनले मात्र भ्रष्टाचार रोक्न सक्ने देखिन्न । दण्ड पनि अभ्रष्ट बनाउने उत्प्रेरक तत्त्व हो, हाम्रो छिमेकी देशमा भ्रष्टाचारीलाई मृत्युदण्ड नै दिइन्छ । दक्षिण कोरियामा सामसुङ कम्पनीका मालिक लि जय योङलाई भ्रष्टाचारको आरोपमा ५ वर्ष जेलमा पठाएको छ । यो ठूलो कुरा थिएन तर उनलाई भ्रष्टकार्यमा सहयोग गर्ने राष्ट्रपति पार्क ग्युन होलेले पद छोड्नुपर्यो । तर, विडम्बना नेपालका भ्रष्ट राजनीतिज्ञहरू निलम्बनमा पनि पर्दैनन् । चुनावमा टिकट पाउँछन् । यस्तै ससाना कारणले नेपालमा ठूलो भ्रष्टाचार र कुकर्म स्वाभिमानको विषय बन्दै गएको छ । चुनाव जित्न सक्छ भने अपराधीलाई पनि टिकट दिने प्रवृत्तिले राजनीतिमा अपराध छिरेको छ । नेपालमा भ्रष्टाचार गरिएको रकमले विकासमा पर्ने असरभन्दा त्यसको कारणले जुन प्रतिभाहरू पद पाउन योग्य थिए ती विदेशिन बाध्य हुन्छन् । त्यसबाट ठूलो घाटा भएको छ । हाम्रा कानून नराम्रा हुन् भने केही निर्वाचित प्रतिनिधिले अहिलेकै कानूनबाट कसरी सुशासन गर्न सक्षम भए, राम्रा कानून छन् भने त्यसको परिपालना किन हुन सकेन ? यहीँबाट भ्रष्टताको नयाँ अंकुरण भइरहेको छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।