बहस:- राष्ट्रिय भवनसंहिता कार्यान्वयन नहुनुको कारण
मुख्य समस्या चेतनाको अभाव हो
गोविन्दबहादुर कार्की
उपसचिव
नगरपालिका शाखा
स्थानीय विकास मन्त्रालय
२०६४ सालदेखि लागू गरिएको भवनसंहिताको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । यसका विभिन्न कारण छन् । भवनसंहिता कार्यान्वयन हुन नसक्नुका मुख्य चार/पाँच कारण छन् । त्यसमध्ये पनि मुख्य कारण भनेको चेतनाको अभाव नै हो । भवनसंहिताको महत्त्व नै नेपालीहरूले बुझ्न सकेका छैनन् । प्रचारप्रसारको कमीका कारण पनि यस विषयमा चेतनाको अभाव भएको हो । सचेत व्यक्तिले पनि भवनसंहिताको बेवास्ता गर्ने गरेको पाइएको छ । भवनसंहिताको कार्यान्वयन गरी घर बनाउँदा लागत बढी पर्ने तथा झन्झट हुने सोच व्याप्त छ । लागतलाई कम गर्नका लागि पनि भवनसंहिता कार्यान्वयन गर्न मानिसहरू हिच्किचाइरहेको अवस्था छ ।
बढी खर्च गर्दैमा भवनसंहिताको पालना हुन्छ भन्ने पनि छैन । यसको पालनाका लागि यस विषयमा सचेत निर्माण ठेकेदार, दक्ष प्राविधिक, तालीमप्राप्त कामदारको पनि आवश्यकता हुन्छ ।
भूकम्पीय जोखिम कम गर्न व्यवस्थित बसोवास र शहरीकरणका लागि भवनसंहिता ल्याइएको हो । भवनसंहिता कार्यान्वयन गर्ने प्रमुख निकाय नगरपालिका कार्यालय र गाविसका हकमा शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको डिभिजनल कार्यालय हो । तर, स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिको अभावमा संहिता कार्यान्वयन गर्न सकिएको छैन । त्यस्तै, यी निकायबीच समन्वयको पनि अभाव छ । स्थानीय विकास मन्त्रालयअन्तर्गतको नगरपालिका शाखाले पनि संहिता कार्यान्वयनका लागि विभिन्न कार्य गरिरहेको छ । स्थानीय निकाय र शहरी विकास तथा भवन निर्माण विभागबीच समन्वयका लागि शाखाले आफ्नो भूमिका अझ सक्रिय पार्नेछ ।
कार्यान्वयन प्रणाली नै असफल छ
सागरकृष्ण जोशी
डिभिजनल इञ्जिनीयर
भवनसंहिता शाखा
शहरी विकास तथा भवन निर्माण विभाग
भवनसंहिता कार्यान्वयनमा समग्र प्रणाली नै असफल भएको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको भवनसंहिता शाखाले संहिता निर्माण र कार्यान्वयनका नीतिगत कार्यहरू गर्दछ । यसको कार्यान्वयन गर्ने कार्य स्थानीय निकायको हो । स्थानीय निकायहरू स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत चल्ने गरेका छन् । कार्यान्वयनको तहका ती निकायमा जनप्रतिनिधिको अभाव छ । कर्मचारी एक्लैले जनदबाब झेल्न पनि कठिन छ । तीव्र शहरीकरणसँगै बनेका अव्यवस्थित घरहरूका कारण भूकम्पीय जोखिम अझ बढ्न जाने हुन्छ ।
जोखिमबाट बच्न र व्यवस्थित बसोवासका लागि भवनसंहिता कार्यान्वयन आवश्यक छ । भवनसंहिताअनुसार घर निर्माणमा १० देखि १५ प्रतिशतसम्म मात्रै बढी लागत पर्न जान्छ । तर, मानिसहरू भविष्यको फाइदालाई हेर्दैनन् । संहिताले तोकेको मापदण्डअनुसार घर बनाउने दक्ष कामदार तथा तालीमप्राप्त कालीगढको पनि अभाव छ ।
भवनसंहिताको कडाइका साथ कार्यान्वयन गर्न आगामी आर्थिक वर्षका लागि विभिन्न कार्यक्रमहरू तय गरिएको छ । यस कार्यमा आवश्यक पूर्वाधार निर्माणका लागि आउँदो बजेटमा १ करोड ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । प्रस्तावित बजेट भवनसंहिताको संशोधन, प्रचारप्रसार, तालीम तथा निर्देशिका प्रकाशनका लागि खर्च गरिनेछ । आगामी आर्थिक वर्षमा २ सय १० जना प्राविधिकलाई संहितासम्बन्धी तालीम दिइनेछ । त्यस्तै, २ हजार २ सय २५ जना सिकर्मी, डकर्मी र डन्डीसम्बन्धी काम गर्ने कामदारलाई तालीम दिइनेछ । पूर्वाधारको निर्माणसँगै लागू गरिने राष्ट्रिय भवनसंहिता कार्यान्वयनमा स्थानीय निकायले पनि कडाइ गर्नुपर्ने हुन्छ ।
Admin 2011-07-08