काठमाडौं। नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले सफाइ दिएको छ । झूटा विवरण पेश गरेर पदीय लाभ लिएको भन्दै गत मङ्सिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दर्तापछि उनी निलम्बित भएका थिए ।
आइतवार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले सिलवाललाई सफाइ दिएको हो । सिलवालले सफाइ पाए पनि उनको पदावधि गत माघमै सकिएकाले पदमा पुनर्बहाली भने हुनेछैनन् ।
६५ वर्षे उमेर हदका कारण उनले १६ महीनाअघि अवकाश पाइसक्नुपर्ने भए पनि जन्ममिति फेरिएको नागरिकता पेश गरेर पदीय ओहदाको दुरुपयोग गरेको अख्तियारको अभियोग थियो । अख्तियारका अनुसार सिलवालले २०८० साउन १५ गते नै अवकाश पाउनुपर्ने थियो ।
निजामती सेवामा २०१५ साउन १५ गतेको जन्ममितिका आधारमा जागीर खाएर अवकाश पाएका सिलवालले प्राधिकरणको अध्यक्ष बन्न भने २०१६ कात्तिक २२ गतेको जन्ममिति रहेको प्रमाणपत्र पेश गरेका थिए ।
सिलवाललाई झूटा विवरण पेश गरेको कसूरमा सजाय दिलाउन माग गरिएको थियो । सिलवाल सरकारको विशिष्ट श्रेणीको पदाधिकारी भएकाले उनलाई थप तीन वर्षसम्म कैद सजाय गर्नुपर्ने समेत अख्तियारले माग दाबी गरेको थियो । साथै, २०८० साउन १५ गतेदेखि हालसम्म उनले लिएको ३६ लाख ६२ हजार रुपैयाँ असुल गर्न समेत माग गरिएको थियो । तर विशेष अदालतले सफाइ दिएको छ ।