काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४९ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यस अवधिसम्म करीब रू. २७ लाख खुद नाफामा रहेको कम्पनी यस वर्ष भने नोक्सानीमा गएको हो ।
यस वर्ष कम्पनीले रू. १ करोड २५ लाखभन्दा बढी सञ्चालन घाटा व्यहोरेको छ । गत वर्ष रू. ६४ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको कम्पनीको यस वर्ष सञ्चालन घाटा ९४ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
गत वर्षको तुलनामा सम्भावित जोखिम शीर्षकमा कम्पनीले ४ दशमलव २५ प्रतिशत बढी रकम छुट्याएको छ । गत वर्ष रू. ७७ लाखभन्दा बढी र यस वर्ष रू. ८० लाखभन्दा बढी रकम कम्पनीले यो शीर्षकमा छुट्याएको हो । खराब कर्जा संकलन पनि यस वर्ष करीब १७ प्रतिशत कम भएको छ । गत वर्ष रू. ९१ लाख ५१ हजार खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ७६ लाखभन्दा बढी मात्र यो कर्जा संकलन गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३ करोड रहेको छ भने जगेडा कोष रकम रू. ३७ लाखभन्दा बढी ऋणात्मक छ । कम्पनीले यस वर्ष ४ प्रतिशतभन्दा बढी निक्षेप संकलन गरेको छ भने ९ प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको छ । यस वर्ष रू. ४ करोड ८१ लाखभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. १८ करोड ६३ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो ।
कर्जा सापटी भने गत वर्षभन्दा करीब १७ प्रतिशत कम रू. १० करोड ८४ लाखभन्दा बढी भएको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ७६ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव ८८ प्रतिशत कायम भएको छ । रू. २१ दशमलव ८८ प्रतिशेयर नोक्सानीमा रहेको यो कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८७ दशमलव ६६ रहेको छ ।