सरकारले एकतर्फी रूपमा ल्याएको बजेट अध्यादेश धोकापूर्ण भएको भन्दै त्यसलाई काङ्ग्रेस, एमाले, राप्रपालगायत विपक्षी १५ दलले अस्वीकार गर्ने घोषणा गरेका छन् । उनीहरूले विपक्षीको आवाजलाई बेवास्ता गरेर सरकारले बजेट अध्यादेश ल्याएर निरङ्कुश ढङ्गले अघि बढ्न खोजेको भन्दै त्यस्तो घोषणा गरेका हुन् । ती दलले सरकारको उक्त निर्णय राष्ट्र र लोकतन्त्रप्रति नै धोका भएको आरोपसमेत लगाएका छन् । ‘सरकारले एकतर्फी ढङ्गले बजेट अध्यादेश ल्याउने निर्णय गरेर जुन प्रकारको बहुलठ्ठीपन देखाउने प्रयास गरेको छ, त्यो राष्ट्र र लोकतन्त्रका लागि धोका हो,’ एमाले अध्यक्ष झलनाथ खनालले मङ्गलवार राजधानीमा विपक्षी दलले आयोजना गरेको ‘बजेट तथा अर्थतन्त्रबारे प्रतिपक्षीको दृष्टिकोण’ विषयक अन्तरक्रियामा भने । सरकारले ल्याएको चुनावी बजेटको कुनै औचित्य नभएको उनको तर्क थियो । ‘दलहरूबीच सरकार, चुनाव र बजेटका बारेमा सहमति नभई एकतर्फी रूपमा ल्याएको यस्तो बजेट अध्यादेश अस्वीकार्य छ,’ खनालले भने ।
वर्ष ८, अंक ६३, बुधवार ६ मङ्सिर, २०६९