काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले बझाङको उत्तरपूर्व साइपाल गाउँपालिका–१ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमवार शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेष्ट बैंक सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर केसी, गाउँपालिकाका वडाअध्यक्षहरू, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख उज्ज्वल पोख्रेल, सरकारी तथा स्थानीय सघसंस्थाका प्रतिनिधि, बैंकका कर्मचारी लगायत स्थानीयबासीको उपस्थिति थियो ।
यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँचबाट टाढा रहेको साइपाल गाउँपालिकामा शाखा सञ्चालनमा आएसँगै अब देशका ७५३ ओटै स्थानीय तहमा ‘क’ वर्गको वाणिज्य बैंकको उपस्थिति रहेको बताइएको छ । भौगोलिक तथा पूर्वाधार विकासकोे हिसाबले पनि अति दुर्गम मानिने यो पालिकामा शाखा कार्यालय खोल्नु कठिन तथा चुनौतीपूर्ण कार्य भए पनि देशका सम्पूर्ण पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउने सरकारको महत्त्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा सञ्चालन गर्न पाउनु बैंकको लागि गर्वको विषय भएको बताइएको छ । राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सबै पालिकामा बैंक पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए । शाखा स्थापनासँगै यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने विश्वास उनले व्यक्त गरे ।