काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पूँजी रू. १२ अर्ब ८१ करोड छ । कम्पनीले प्रथम त्रैमाससम्म (साउनदेखि असोजसम्म) रू. ४७ करोड ५६ लाख घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रू. १८ करोड ८९ लाख नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म कम्पनीले रू. १ अर्ब ४३ करोड ४७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रू. २ अर्ब १९ करोड ७१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ३४ दशमलव ७० प्रतिशतले घटेको छ ।
पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब २८ करोड २० लाख खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १५ दशमलव ९५ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले रू. १ अर्ब ५२ करोड ५२ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको स्पेसल रिजर्भमा रू. ३ अर्ब ८३ करोड ८० लाख, महाविपत्ति कोषमा रू. २६ करोड ७४ लाख, रिटेन्ड अर्निङमा रू. १९ करोड ६९ लाख र अन्य इक्विटीमा रू. ७१ करोड २४ लाख छ ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) रू. ३ दशमलव ७१ ऋणात्मक भएको छ । अघिल्लो वर्ष यही अवधिमा ईपीएस रू. १ दशमलव ४७ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव १४ छ ।