ढाका (बङ्गलादेश) । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ ।
बङ्गलादेशको अन्तरराष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले बङ्गलादेशमा भएको प्रदर्शनमा मानवताविरुद्धको अपराधमा संलग्न भएको आरोपमा उनीसहित आवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
गत जुलाईदेखि अगस्टसम्म चलेको विद्यार्थी नेतृत्वको प्रदर्शनमा उनी नेतृत्वको प्रशासकले दमन गर्दा ७०० भन्दा बढीको ज्यान गएको थियो ।
आईसीटीका मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्न र आगामी नोभेम्बर १८ मा अदालतमा पेश गर्न अदालतले आदेश दिएको बताए । हसिनासहित अन्य अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्न आवश्यक भएकाले पक्राउ पूर्जी जारी गरिएको उनको भनाइ छ ।
विद्यार्थी नेतृत्वको आन्दोलनका कारण हसिना गत अगस्टमा हेलिकप्टरबाट भागेर भारत पुगेकी थिइन् । त्यहाँबाट भागेर नयाँ दिल्ली पुगेपछि उनी सार्वजनिकरूपमा देखिएकी छैनन् । उनी नयाँ दिल्ली नजिकै रहेको सैन्य एयरबेसमा अन्तिम पटक देखिएकी थिइन् ।
हसीनाको शासन ढलेपछि उहाँका दर्जनौं सहयोगीलाई हिरासतमा लिइएको थियो, जसमा पूर्वमन्त्रीहरू र हसिनाको अवामी लिग पार्टीका अन्य वरिष्ठ सदस्यहरू छन् ।
उनको सरकारद्वारा गरिएका राजनीतिक नियुक्ति र अदालत र केन्द्रीय बैङ्कका केही अधिकारी समेतलाई जिम्मेवारीबाट हटाइएको छ । उनको कूटनीतिक राहदानी रद्द गरिएको छ ।
हसिनाको पलायनसँगै नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिइएको छ । एएफपी/रासस