बङ्गलादेशले उपलब्ध गराउने शून्य भन्सार सुविधाका लागि नेपालले १ सय कृषि उत्पादनको सूची तयार पारेको छ । प्रारम्भिक सूचीलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी साता सरोकारवाला सबै निकायसँग छलफल गरी अन्तिम रूप दिन लागेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घ, अर्थ मन्त्रालय तथा भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयसँगको छलफलपछि सूचीलाई दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा प्रस्तुत गरिने मन्त्रालयका उपसचिव रामेश्वर पोखरेलले अभियानलाई बताए ।
‘बङ्गलादेशले सहसचिवस्तरीय बैठकका लागि भर्खरै पत्र पठाएको छ,’ उनले भने, ‘त्यसैले ३ महीनाभित्रै बैठकबाट भएको निर्णयअनुसारको सुविधा कार्यान्वयनमा आउँछ ।’ गत साउनमा भएको दुई देशका वाणिज्य सचिवस्तरीय बैठकमा बङ्गलादेशले नेपालका १ सयभन्दा बढी कृषि उत्पादनलाई शून्य भन्सार सुविधा उपलब्ध गराउन सैद्धान्तिक सहमति दिएको थियो । आगामी वर्ष हुने दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौं सम्मेलनअघि नै उक्त विषय टुङ्गो लगाउन दुवै देशले काम अगाडि बढाएका हुन् ।
वर्ष ८, अंक ८५, बिहीवार २८ मङ्सिर, २०६९