भदौं १३, काठमाडौं । भारतीय पूर्वाधार निर्माण कम्पनी जीएमआर (ग्रान्धी मल्लिकार्जुन राव)ले नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि तयारी छलफल थालेको छ । जीएमआरले निर्माण गर्ने तयारी गरिएका माथिल्लो मस्र्याङ्दी–२ र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यात गर्नेसम्बन्धी छलफल थालेको हो । यसका लागि बङ्गलादेश सरकारसँग विद्युत् निर्यातसम्बन्धी छलफल शुरू गरिएको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ । बङ्गलादेशबाहेक अन्य पक्षसँग पनि छलफल भइरहेको कम्पनीको भनाइ भारतीय पत्रिका स्ट्याण्डर्ड बिजनेशको अनलाइन संस्करणले उद्धृत गरेको छ ।
अनलाइन संस्करणका अनुसार जीएमआरको वार्षिक प्रतिवेदनमा बङ्गलादेश सरकार, भारतीय पावर ट्रेडिङ कम्पनी लगायतसँग विद्युत् विक्रीसम्बन्धी प्रारम्भिक छलफल भइसकेको छ । प्रतिवेदनमा विश्व बैङ्कअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले दुवै आयोजनाको १० प्रतिशत लगानी भार बेहोर्नुको साथै मुख्य कर्जादाताको रूपमा रहने सम्भावना रहेको उल्लेख छ । कम्पनी ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ आयोजना र ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने प्रक्रियामा रहेको छ । माथिल्लो मस्र्याङ्दी–दोस्रो लमजुङ र मनाङ जिल्लामा पर्छ भने माथिल्लो कर्णाली दैलेख, सुर्खेत र अछाम जिल्लामा पर्छ ।
जीएमआरले माथिल्लो कर्णाली आयोजनाको विद्युत् निर्यात गर्न आवश्यक प्रसारण लाइन निर्माणको लागि आईएफसीसँग संयुक्त विकास सम्झौता (जेडीए) गरिसकेको छ । कम्पनीले २०७१ पुस ७ गते उक्त सम्झौता गरेको हो । माथिल्लो मस्र्याङ्दी आयोजनाको लागि पनि आइएफसीसँग सम्झौता तयारीमा रहेको कम्पनीले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । आईएफसीले आयोजनाको १० प्रतिशत शेयर लगानीसहित सह–प्रवर्द्धक, मुख्य कर्जादाता र व्यवस्थापक रहने प्रस्ताव गरेको जीएमआरले जानकारी दिएको छ । साथै, कम्पनीले चिनियाँ लगानीको लागि त्यहाँका बैङ्कहरू र इञ्जिनीयरिङ, खरीद र निर्माण कार्य गर्ने निर्माण व्यवसायीसँग पनि थुप्रै चरणमा छलफल भइसकेको जानकारी दिएको छ । जीएमआरले माथिल्लो कर्णाली आयोजनाको आयोजना विकास सम्झौता (पीडीए) सम्पन्न गरिसकेको छ ।
साथै, नेपाल सरकारसँग मिलेर उत्पादन र प्रशारण लाइन आयोजना शुरू गरिसकेको छ । त्यससम्बन्धी अहिलेसम्म आयोजना क्षेत्रमा पर्ने जग्गा पहिचान गरी संयुक्त प्रमाणीकरण गर्ने काम भइरहेको छ । साथै, ऊर्जा मन्त्रालयको निर्देशनअनुसार माथिल्लो कर्णाली आयोजनाको प्रसारण लाइन ‘रि–रुटिङ’ गर्ने प्रक्रियामा रहेको छ ।
कुल लागत १ सय १६ अर्ब रुपैयाँ अनुमान गरिएको माथिल्लो कर्णाली आयोजनाको सन् २०१६ भित्र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने योजना छ । त्यस्तै, माथिल्लो मस्र्याङ्दी–२ आयोजनाको विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको लगानी बोर्डले जानकारी दिएको छ ।