वीरगञ्ज । बर्खाको पानी निकास नहुँदा वीरगञ्जमा २०० बिगाहा खेतको धानबाली नष्ट भएको छ । वीरगञ्जको वडा नंं १७, २४, २५ र २६ का बासिन्दाले पानीको उचित निकास नहुँदा धान डुबानमा परेकाले पाकेको धानसमेत भित्त्याउन नपाएको भन्दै क्षतिपूर्ति माग गरेका छन् । स्थानीयले जिल्ला प्रशासन कार्यालयमा क्षतिपूर्ति माग गर्दै पत्र दर्ता गराएका हुन् ।
गत बर्खामा परेको पानी निकास नहुँदा खेत डुबानमा परेको थियो । पानीको निकास नभएकाले धान खेत डुबानमा परेको र धान पाके पनि काट्न नसकिएको सञ्चारकर्मी समेत रहेका स्थानीय बासिन्दा अनिल तिवारीले बताए ।
सरकारले पानीको निकासको उपाय निकाल्न नसक्दा स्थानीय किसानले क्षति बेहोर्नुपरेको गुनासो किसानको छ । स्थानीयले डुबानको निकास क्षतिपूर्तिको माग गर्दै पत्र दर्ता गराएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आर्थिक अभियानलाई बताए ।
‘हामीले आगामी बर्खामा डुबान नहुने गरी निकासको व्यवस्था मिलाउन पहल गरिरहेका छौं । यसका लागि स्थानीय र प्रदेश सरकारसँग पहल गर्छौं,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।
डुबान प्रभावित वडाका श्रीसिया, सुगौली, आठराहा, बहुअरी र आलौको किसान प्रभावित भएका हुन् । उनीहरूले बितेको बर्खादेखि नै जनप्रतिनिधिसँग समस्याको समाधान गर्न माग गर्दै आए पनि निकास नपाएको गुनासो गरेका छन् ।
गत बर्खामा पानी निकासको विषयमा स्थानीयबीच विवाद समेत भएको थियो । त्यति बेलाको पानी अहिलेसम्म नसुकेको र अहिले गहुँ खेतीसमेत गर्न नपाएको किसानले बताएका छन् । अहिले पनि खेतमा पानी जमेको छ ।
खेतको चारैतिर सडक बने पनि पानी निकासका लागि नाला निर्माण गरिएको छैन । नालाको अभावमा डुबानको समस्या भएको स्थानीयले बताए । करीब एक किलोमिटर जति नाला निर्माण भएमा तत्कालका लागि पानीको निकास हुन सक्ने भए पनि सरोकारका निकायले चासो नदेखाएको स्थानीयको आरोप छ ।
आफूले १५ कट्ठा खेतमा लगाएको धान नष्ट भएको तिवारीले बताए । डुबानका कारण क्षति बेहोरेका किसानले क्षतिपूर्ति पाउनुपर्ने माग उनको छ । मंगलवार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा यो विषयले प्रवेश पाएको छ । समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्यालले पानी निकासका लागि सरोकारका पक्षसँग समन्वय गरी समाधान निकालिने बताएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एसके चौरसियाले बताए ।
त्यसअघि प्रमुख जिल्ला अधिकारी, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायत सुरक्षा अधिकारीले डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । यसैबीच संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यले पनि स्थलगत अवलोकन गरी डुबान समस्याको तत्कालीन निकासका लागि पहल गर्ने आश्वासन दिएका छन् ।