काठमाडौं । वैशाख ६ गतेदेखि सार्वजनिक निष्कासन गरिएको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई वैशाख २० गतेसम्म विक्रीमा रहने भएको छ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुन लागेको यो योजना सञ्चालनका लागि प्रतिइकाई १० रूपैयाँ दरको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो ।
योजना सञ्चालनका लागि योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले १० करोड इकाई विक्री गर्नेछ । कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरिएको छ ।
छिटो अवधि वैशाख १० गतेसम्म मागबमोजिम आवेदन नपरेपछि क्यापिटलले ढिलो अवधि वैशाख २० गतेसम्मको विक्री अवधि तय गरेको हो । लगानीकर्ताले यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । बन्दमुखी प्रकृतिको यो योजना १० वर्ष अवधिको रहेको छ ।
योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्षमा परिपक्व हुनेछ । योजना परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ । योजना व्यवस्थापकसँगै इकाई विक्री प्रबन्धकको जिम्मेवारीसमेत सिटिजन्स क्यापिटल लिमिटेडले पूरा गर्नेछ ।
विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि सी-आस्बा सेवामा सहभागी सम्पूणर् बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनको प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था छ ।