वीरगञ्ज । मुख्य नाकामा वीरगञ्जबाट हुने वैदेशिक व्यापारमा सुधार आएको छ । वीरगञ्जको आईसीपी भन्सारबाट मालवस्तु भित्रिने क्रम बढेको हो । विगतका वर्षहरूमा बजारमा माग खुम्चिएपछि व्यापार समेत खस्किएकोमा यो वर्ष व्यापार सुध्रिएको भन्सारको तथ्यांकले देखाएको छ ।
आन्तरिक बजारले लय समातेकाले आयात बढेको भन्सारका अधिकारीहरूको बुझाइ छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा यो नाकाबाट भित्रिने मुख्य १० वस्तुको आयात बढेको भन्सारका प्रमुख प्रशासक दीपक लामिछानेले बताए ।
यो भन्सारबाट मुख्य रूपमा पेट्रोलियम पदार्थ, सवारीका साधन र औद्योगिक कच्चापदार्थ भित्रिने गरेको छ । बितेको ७ महीनामा बढी भित्रिने मालवस्तुको सूचीमा फलाम, मेसिनरी पार्टपुर्जा, औषधि, मलखाद, खाद्यान्न, यातायात साधन र पार्टपुर्जालगायत छन् । आईसीपी भन्सारले सवारीका साधनका आयातकर्तालाई भन्सारमा थन्क्याएका सवारीका साधन जाँचपास गर्न दबाब दिएपछि यस्तो आयात बढेको हो ।
भन्सारमा ६० दिनभन्दा बढी भन्सारमा रोकेर राखिएका सवारीका साधन जफत गर्न गाडीका आयातकर्तालाई आईसीपी भन्सारले पत्र काटेपछि आयातकर्ता धमाधम छुटाउन आएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए । ‘हामीले पत्र काटेपछि आयातकर्ताले गाडी छुटाएर लैजाने क्रम बढ्यो । भन्सार हातामा ५०० गाडी थुप्रिएकोमा अहिले यो संख्या करीब १५० मा झरिसकेको छ,’ उनले भने ।
आयात सूचीको अग्रभागमा पेट्रोलियम पदार्थ परेको छ । चालू आवको माघसम्ममा १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ मूल्यबराबरको डिजेल, पेट्रोल, एलपीजी र मट्टीतेल भित्रिएको भन्सारले जानकारी दिएको छ । आयातको दोस्रो नम्बरमा भटमासको कच्चा तेल परेको छ । पछिल्लो समय भारतले अन्य देशबाट हुने आयात शुल्क बढाएपछि नेपालबाट साफ्टा सुविधामा हुने निकासी सहज भएको छ ।
यही फाइदा उठाउन उद्योगीले आयातित कच्चा तेल प्रशोधन गरेर भारत निकासी गर्दै आएका छन् । प्रशोधित तेलको निकासी सुधारिएको उत्पादकहरूले बताए ।
निकासी व्यापारको अग्रभागमा भटमास र सूर्यमुखीको प्रशोधित तेल छन् । राजस्व संकलनमा समेत यिनै वस्तुको योगदान सर्वाधिक रहेको भन्सारको तथ्यांक छ । आईसीपी भन्सारले बितेको ७ महीनामा उठाएको कुल राजस्वमा पेट्रोलियम पदार्थबाट मात्रै ४५ दशमलव ६४ प्रतिशत राजस्व आएको छ । यो नाकाको राजस्वमा कपडा, शृंगारका सामान र खाद्यान्नको योगदान पनि उल्लेख्य देखिएको छ । भन्सारले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको तथ्यांकले विगत वर्ष २०८१/८२ को शुरूमा ७ महीनाको तुलनामा चालू वर्षको समीक्षा अवधिमा ती सबै वस्तुको आयात मूल्य बढेको देखाएको छ ।