काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताएका छन् ।
युवा किसान सञ्जालले आज काठमाडौंमा आयोजना गरेको किसान सम्मान एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफूले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महीनामा भएका कार्य र निर्णयहरू समग्र कृषि र किसानको पक्षमा भएको दाबी गरे । 'अझै थुप्रै कामहरू गर्न बाँकी छ जसको सकारात्मक प्रतिफल देखिँदै जाने छ,' मन्त्री अधिकारीले भने ।
उनले थपे, 'कृषि ऐन चाडै अघि बढाउने गरि मन्त्रालयले काम गरिरहेको छ, कृषिमार्फत हामीले चाहेको समृद्धि नयाँ ऐनमार्फत प्राप्त हुन सक्ने गरी तयार हुँदैछ,' मन्त्री अधिकारीले भने ।
उनले कृषिमार्फत गरिबी घटाउँदै कम्तीमा आफनै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बोकेको बताए । साथै उनले किसानलाई परिचयपत्र वितरणको कार्य यसै वर्षदेखि शुरु गर्ने जानकारी दिए ।
मन्त्री अधिकारीले कृषि मन्त्रालयमार्फत विगत पाँच वर्षयता अनुदान लिएकाहरूको नाम सार्वजनिक गरिएको जानकारी दिए । 'कृषि र किसानको नाममा १ खर्ब ७ अर्ब रुपैयाँ वितरण भएको रहेछ । यसको उपलब्धि खोज्ने काम भएको छ,' उनले भने ।
उनले सिंहदरवार चहारेर अनुदान लिने विगतको प्रवृतिको अन्त्य भएको दाबी गरे । साथै उनले आफू मन्त्रालयको नेतृत्वमा रहँदासम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
उनले ठूलो रकम रासायनिक मलमा अनुदान गएको र यसको सहज वितरणमा प्रदेश र स्थानीय तहको पनि महत्त्वपूर्ण भुमिका हुने बताए ।