काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको संस्थापक शेयर प्रतिकित्ता १२५ रुपैयाँमा विक्री भएको छ ।
कम्पनीले २१ लाख १५ हजार १० कित्ता संस्थापक शेयर विक्रीका लागि माघ २७ गतेदेखि फागुन ११ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र फागुन १५ गते खोलि मूल्याङ्कन गर्दा कायम अन्तिम मूल्य १२५ रुपैयाँ कायम भएको जानकारी कम्पनीले दिएको छ ।
उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर बाँडफाँट गरिएको भनाई कम्पनीको छ । १२५ रुपैयाँभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नेहरुको हकमा भने सबै आवेदकहरुलाई शेयर बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ ।
यस लिलामी प्रक्रियामा सहभागी आवेदकहरुको बाँडफाँटमा नपरेको शेयर वापत्को रकम फागुन २७ गतेदेखि फिर्ता गरिने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीले ७० लाख कित्ता हकप्रद शेयर मंसिर २९ गतेदेखि माघ ४ गतेसम्म विक्री खुला गर्दा वितरण नभएपछि दोस्रो चरणमा लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।