काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले फागुन ६ गतेदेखि निष्कासनमा ल्याएको इकाई फागुन २० गतेसम्म निष्कासनमा रहने भएको छ । क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने गरी सानिमा फ्लेक्सी फण्ड नामको योजना सञ्चालनमा आउन लागेको हो ।
यस योजना सञ्चालनका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरेको हो । कुल इकाईमध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई निष्कासनमा आउन लागेको हो ।
निष्कासन गर्ने इकाईमध्ये योजनाको कुल आकारको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये योजना व्यवस्थापक सानिमा क्यापिटललाई २० लाख कित्ता सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणमा २ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
यी इकाई खरीदका लागि छिटो अवधि फागुन ११ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि ढिलो अवधि फागुन २० गतेसम्मको अवधिलाई निरन्तरता दिइएको हो । यस अवधिभित्र कुनै पनि दिन मागबमोजिम आवेदन प्राप्त भएमा निष्कासन बन्द हुने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।
यी इकाई खरीदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्तादेखि अधिकतम ४० लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । योजना व्यवस्थापकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
नेपाल धितोपत्र बोर्डले क्यापिटललाई माघ २ गते यो योजना सञ्चालनका लागि इकाई निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।