बेइजिङ । चीनले स्वच्छ र दिगो ऊर्जाको विकासका लागि हाइड्रोजन प्रविधिलाई रणनीतिक प्राथमिकतामा राखेको छ। सन् २०२५ मा सम्पन्न चीन अन्तर्राष्ट्रिय हाइड्रोजन सम्मेलन (सीआइएचसी) मा यस प्रविधिका नवीनतम प्रगतिहरू प्रदर्शन गरिएको थियो, जसले हाइड्रोजन ऊर्जाले चीनको भविष्यको ऊर्जा खपतमा प्रमुख भूमिका खेल्ने संकेत दिएको छ।
चीनले आन्तरिक मंगोलिया अन्तर्गत शेंगली कोइलाखानीमा देशको पहिलो मानवरहित हाइड्रोजन-इलेक्ट्रिक हाइब्रिड खनन ट्रक सञ्चालनमा ल्याएको छ। यो ट्रक हाइड्रोजन र ब्याट्रीबाट संचालित हुने भएकाले वार्षिक १ हजार टन कार्बन उत्सर्जन घटाउने अपेक्षा छ।
यान्ताइ शहर (पूर्वी चीन) मा निर्माण भएको समुद्री हाइड्रोजन उत्पादन केन्द्र ले लामो दूरीका जहाजहरूका लागि हरित इन्धनको आपूर्ति गर्ने क्षमता राख्छ । साङहाई लगायतका शहरहरूमा हाइड्रोजन बस, ट्याक्सी र ट्रकको परीक्षणात्मक सञ्चालन शुरू भएको छ।
चीन सरकारले हाइड्रोजन ऊर्जा विकासको २०३५ रणनीति अन्तर्गत योजना बनाएको छ । सन् २०२५ सम्म नवीकरणीय स्रोतबाट १–२ लाख टन वार्षिक हाइड्रोजन उत्पादन गर्ने, सन् २०३० सम्म हाइड्रोजन उद्योगलाई व्यवस्थित रूपमा विस्तार गर्ने, १५औं पञ्चवर्षीय योजना (२०२६–२०३०) मा प्रविधि अनुसन्धान, उत्पादन लागत घटाउने, र अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने लगायतका रणनीति अगाडी सारेको हो ।
यद्यपि हाइड्रोजन प्रविधिमा अझै उच्च उत्पादन लागत, प्रविधिगत जटिलता र पूर्वाधार संरचनाको अभाव जस्ता चुनौतीहरू सामना गरिरहेको छ । विश्वव्यापी रूपमा हरित हाइड्रोजन उत्पादन हाल १ प्रतिशत भन्दा कम मात्रै रहेको छ । जसले थप अनुसन्धान र लगानी आवश्यक रहेको देखाएको छ ।
विशेषज्ञहरूका अनुसार चीनले हाइड्रोजन प्रविधिलाई कार्बन उत्सर्जन शून्य (नेट-जिरो) लक्ष्य प्राप्त गर्ने मुख्य साधनको रूपमा हेरेको छ । यसले केवल कोइला र पेट्रोलियममा निर्भरता घटाउँदैन २०६० सम्म जलवायु लक्ष्य हासिल गर्न पनि मद्दत गर्ने अपेक्षा छ । एजेन्सी