काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको विद्युत विक्री आम्दानी र नाफा घटेको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४० करोड १२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा उक्त नाफा घटेर रू. ३७ करोड ९१ लाखमा सीमित भएको हो । त्यस्तै कम्पनीले विद्युत विक्रीबापत गत आवमा रू. ६२ करोड ४८ लाख आम्दानी गरेकोमा चालू आवमा यो आम्दानी रू. ६१ करोड २० लाखमा झरेको छ ।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत ऊर्जा खरीद गरेका कारण कम्पनीको विद्युत विक्री आम्दानी घट्न पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७४ पैसा रहेकोमा चालू आवमा ९ रुपैयाँ ४० पैसा कायम भएको हो । चुक्ता पूँजी रू. ७ अर्ब ९८ करोड रहेको कम्पनीले जगेडामा रू. २ अर्ब ५३ करोड सञ्चिति गरेको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५५ दशमलव २० गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ८० पैसा छ ।