काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्ष २ प्रतिशत (करसमेत) नगद लाभांश वितरण गरेको छ ।
कम्पनीले गत वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
माघ ७ गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १५ गते सार्वजनिक बिदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।
पुस १४ गतेसम्म कम्पनीको शेयर बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का राखिएकाले कर्जा फुकुवा भैसकेको भए फुकुवा पत्र पेश गर्नसमेत कम्पनीले भनेको छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नगद लाभांश वितरण गरेको कम्पनीले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण गर्ने जानकारी दिएको छ ।