चितवन। चितवन उद्योग संघले एकैपटक तीनओटा प्रदर्शनी गर्ने भएको छ । नवौं अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ मा एकैपटक तीनओटा प्रदर्शनी गर्न लागिएको हो । संघले यही चैत १४ गतेदेखि १८ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा नवौं अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दै छ । सोही क्रममा प्रदेशस्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी २०८१ र स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला गर्न लागिएको बिहीवार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको छ । संघको प्रदर्शनी तथा व्यापार प्रवर्द्धन समितिका संयोजक दिनुपकुमार बरालका अनुसार औद्योगिक प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि (प्रोसेसिङ, पोल्ट्री, डेरी, फुड एण्ड बेभरेज, चिया), निर्माण उद्योगका मेशिनरी तथा प्रविधि र निर्माण सामग्री राखिनेछ ।
प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नवीनतम प्रविधि अवलम्बन गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए । नवप्रवर्तन र नयाँ प्रविधिबारे जानकारी गराउँदै युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन यो प्रदर्शनी सहयोगी बन्ने उनको भनाइ छ । प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहने बरालले बताए । उनका अनुसार औद्योगिक प्रदर्शनी ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशीले अवलोकन गर्ने अनुमान लिइएको छ ।
प्रदर्शनीकै क्रममा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको प्रवर्द्धन सहयोगमा प्रदेशस्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी २०८१ गर्न लागिएको छ । बागमती प्रदेशका ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरूको चित्रण हुनेगरी प्रत्यक्ष रूपमा कोरिएका चित्रहरूबीच प्रतियोगिता गराइनेछ ।
यस्तै, चैत १४ गतेदेखि वैशाख ९ गतेसम्म स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला गरिने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताइएको छ । सो मेलामा एक हजार पाँच सयभन्दा बढी मोडलका १५ भन्दा बढी ब्रान्डका जुत्ता चप्पल विक्रीका लागि राखिनेछ । मेलामा १५ हजार जोरभन्दा बढी जुत्ता चप्पल विक्री हुने, जसको कारोबार रकम रू. १ करोड ५० लाख बराबर हुने अनुमान गरिएको छ । मेला १ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको बरालले जानकारी दिए । संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले निर्यातमुखी उद्योगलाई प्राथमिकतामा राखेर प्रदर्शनी गर्न लागिएको जानकारी दिए । सुस्ताएको आर्थिक गतिविधि चलायमान बनाउन र साना उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक प्रदर्शनी गर्न लागिएको घिमिरेले बताए । यसले औद्योगिक क्षेत्रको प्रवर्द्धनका लागि सहयोग पुग्ने उनको भनाइ छ ।