चितवन। चितवनमा पालिकास्तरबाट उत्पादन हुने फोहोरको दिगो व्यवस्थापनका लागि फोहोर प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । निजी लगानीबाट सञ्चालित यो देशकै ठूलो फोहोर प्रशोधन उद्योग रहेको दाबी गरिएको छ । सफा ऊर्जा उत्पादन प्रालिले चितवनको खैरहनी नगरपालिका–४ चैनपुरमा नमूनाको रूपमा व्यवस्थित प्रशोधन उद्योग सञ्चालनमाल्याएको हो ।
फोहोर व्यवस्थापनको विषय देशव्यापी रूपमा पालिकालाई चुनौती बनिरहेका बेला यसको दीर्घकालीन समाधानका लागि निजीक्षेत्रले प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो । खैरहनी नगरपालिकामा उत्पादन हुने फोहोर संकलन र व्यवस्थापनको काममा गरेको सफा ऊर्जाले रत्ननगर नगरपालिकालाई समेत जोडेको छ ।
पूर्वी चितवनमा फोहोर व्यवस्थापनको समस्या समाधानमा सघाउने लक्ष्यसहित उद्योग सञ्चालनमा ल्याइएको सफा ऊर्जाका निर्देशक निर्णय पौडेलले जानकारी दिए । डेढ वर्ष अघिदेखि चितवनमा शुरू भएको फोहोर प्रशोधनको कामलाई देशका सबैजसो स्थानीय तहले चासोको साथ हेरेका छन् ।
देशको संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाले समेत चितवनमा सफा ऊर्जाले फोहोर प्रशोधनको सञ्चालनमा ल्याएको उद्योगको अवलोकन गरेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको टोली सफा ऊर्जाले सञ्चालन गरेको फोहोर प्रशोधन उद्योगले गरिरहेको कामको अवलोकन गरेर फर्किएको छ ।
काठमाडौं महानगरपालिकाका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जन, मेकानिकल इन्जिनियर विजय तुलाधर, वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, सिभिल इन्जिनियर उद्धवराज नेपाल र कर्मचारी महेश शाक्यले प्रशोधन उद्योगको अवलोकन तथा निरीक्षण गरेका हुन् । महानगरको टोलीले कारखानामा सुक्खा तथा जैविक फोहोर प्रशोधन मेसिन तथा प्रविधिको अवलोकन गरेको थियो । खैरहनी र रत्ननगर नगरपालिकाको सहजीकरणमा शुरू गरिएको देशकै ठूलो तथा पहिलो प्रशोधन उद्योगले विपन्न तथा सीमान्तकृत समुदायका ११५ जनालाई रोजगारी प्रदान गरेको छ । प्रशोधन उद्योग सञ्चालनमा खैरहनी नगरपालिकाको महत्त्वपूर्ण भूमिका तथा रत्ननगर नगरपालिकाको साथ रहेको निर्देशक पौडेलले बताए ।
सफा ऊर्जाका प्रतिनिधि रोशन केसीले महानगरको टोलीलाई उद्योग स्थापनाको उद्देश्य सहित उद्योगले गरिरहेको कार्यप्रगति र भावी योजनाको विषयमा जानकारी गराएका थिए । स्रोतमै फोहोरको वर्गीकरणको काम शुरू गरेर सफा ऊर्जाले फोहोर व्यवस्थापनमा नयाँ कामको शुरुआत गरेको छ । तरकारी तथा फलफूलबाट सफा प्रांगारिक मल उत्पादन गरी बजारमा पठाउन शुरू गरिएको छ । शिशाजन्य वस्तुको धूलोबाट भौतिक संरचना निर्माणमा प्रयोग हुने ब्लक, कपडाजन्य वस्तुबाट कपास बनाउन शुरू गरिएको पौडेलले बताए । उद्योगबाट उत्पादित जैविक मलको प्रयोग गरी सयपत्री फूलको खेती गरेको सफा ऊर्जाले प्याज र लसुनको व्यावसायिक खेती गर्ने तयारी गरेको छ ।