काठमाडौं। अतिथि सत्कार सेवा विस्तारलाई तीव्रता दिएको सिद्धार्थ समूहले चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारेमा स्तरोन्नति गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । १० करोड रुपैयाँ लगानीमा त्रिशूली नदीकिनारको चुम्लिङटारमा रिसोर्ट सञ्चालन गरेको उक्त समूहले ३० करोड रुपैयाँ थपेर त्यसलाई चार तारेमा स्तरोन्नति गर्न लागेको हो ।
सन् २०१६ मा सञ्चालनमा आएको उक्त रिसोर्टमा लगानी थपेर अहिले समूहले विभिन्न पूर्वाधार बनाउँदै छ । सिद्धार्थ बाटिका ब्रान्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्रान्डमा सञ्चालनको तयारी भइरहेको बोर्ड सदस्य तथा उक्त क्षेत्रका क्लस्टर म्यानेजर किरण रिमालले जानकारी दिए । ‘रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ रिमालले भने, ‘स्तरोन्नतिपछि रूम संख्या बढेर ६४ ओटा पुग्नेछन् । साथै आउटडोर र इनडोर ज्याकुजीसहितको प्रेसिडेन्ट रूमको पनि सुविधा थप हुनेछ ।’
समूहले ४२५ वर्गफुटको ग्रान्ड डिलक्स रूम पनि निर्माण गर्दै छ । बालबालिकाका लागि पानीसँग सम्बद्ध खेलका लागि विभिन्न पूर्वाधार बनाउने काम साइटमा भइरहेको छ । उनले नेपाली खाना र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित ८० जना अट्ने क्षमताको डेक रेस्टुराँ पनि सञ्चालन हुने जानकारी दिए । यो रेस्टुराँमा विशुद्ध नेपाली परिकार र रैथाने नेपाली खाना प्रवर्द्धन गर्ने गरी काम हुने उनको भनाइ छ । रिसोर्टभित्रै ग्रोसरी पसल र प्रत्येक शुक्रवार गुरुङ र मगर संस्कृतिको प्रवर्द्धन हुने गरी सांस्कृतिक नृत्य पनि सञ्चालन हुने उल्लेख गरिएको छ । रिमालका अनुसार सुपर त्रिशूली जलविद्युत् आयोजनाको पनि बाँध रिसोर्टनजिकै बन्ने भएकाले त्यसपछि यहाँको पर्यटन विकासमा सहयोग पुग्नेछ । रिसोर्ट स्तरोन्नतिपछि पोखरा, मनकामना मन्दिर र बन्दीपुर जाने पर्यटकलाई लक्ष्य गरी प्याकेज निर्माण गरिने उनले जानकारी दिए ।
नेपाल पनि एटमोसफेर कोर हस्पिटालिटीको सञ्जालमा
काठमाडौं। बनेपास्थित अरण्य नेचर रिसोर्टको व्यवस्थापन दक्षिण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पिटालिटीले गर्ने भएको छ । लस्ट होराइजन जंगल रिसोर्टको साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्ततिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो । काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर ग्रुपका प्रबन्ध निर्देशक सलिल पनिग्राहीले नेपाल दक्षिण एरियाको विलासी पर्यटकीय गन्तव्यको रूपमा अघि बढिरहेको बताए । अत्यन्त राम्रो नयाँ गन्तव्यमा स्तरीय ग्राहकलाई आफ्नो सेवा दिन पाउँदा आफूहरू उत्साहित भएको नेपाल, भारत, श्रीलंका र भुटानका लागि एटमोसफेर कोरका प्रबन्ध निर्देशक सौभाग्य महोपत्राले बताए ।