म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ । आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रीया अघि बढाउने गरि मुस्ताङका दुई सडकलाई रु. पाँच/पाँच करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो ।
घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ– आलुबारी– याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङ १९२० बाट निर्वाचित प्रदेश सभा सदस्य बिकल शेरचनले जानकारी दिए । "भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रीया अघि बढाउने बाटो खुलेको छ,” उनले भने "दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्त्वपूर्ण छ ।” करिब १३ किलोमिटर दुरीको मार्फा–धमाङ–आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैचा छ ।
परापुर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिवुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्त्वपूर्ण छ । याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरूलाई सहज हुनेछ । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ ।
हिन्दु र वौद्ध धर्मवालम्बीहरूको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरूलाई सहज हुने मुस्ताङ १९१० बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताए । धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्त्व भएको उनले बताए ।
गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने रु. १०/१० करोड बजेटको योजना शुरु भएको थियो । रानीपौवा–झोङ–तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवत जावत गर्न सहज हुनेछ् । दुई वटै योजना ठेक्का मार्फत निर्माणाधिन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए । यस वर्ष झोङ–छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि रु। नौ करोड १२ लाख बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रीया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताए ।