काठमाडौं। ‘डाटा गोपनीयता दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीले बैंकको नीतिअनुरूप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकको सबै व्यक्तिगत तथा वित्तीय जानकारी गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिको बारेमा अद्यावधिक रहने प्रतिज्ञा गरेका छन् ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले प्रधान कार्यालय काठमाडौंमा सम्पूर्ण कर्मचारीलाई एक कार्यक्रमका बीच प्रतिज्ञा गराएका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति थियो । सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले समेत आ–आफ्ना कार्यालयमा प्रतिज्ञा लिएको बताइएको छ ।