काठमाडौं । बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजी (तरलता) थुप्रिरहेका बेला देशको वैदेशिक व्यापार (आयात/निर्यात) बढेपछि कर्जा प्रवाह बढ्न थालेको छ । आयातका लागि व्यवसायीले लिने कर्जाका साथै शेयर बजार र गाडी खरीदका लागि प्रवाह हुने कर्जा बढ्दा बैंकहरूको समग्र कर्जा वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को माघसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँले बढेको छ । यो ५ दशमलव ६ प्रतिशतको वृद्धि हो । अघिल्लो आवको यस अवधिमा कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४ दशमलव १) प्रतिशतले बढेको थियो ।
- कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँले बढ्दा निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड रुपैयाँले बढ्यो
- ट्रस्ट रिसिप्ट (आयात) कर्जा गत माघमा ६९ दशमलव ५ प्रतिशतले वृद्धि
- अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ दशमलव ३ प्रतिशतले वृद्धि
- माघको महँगी वृद्धिदर ४ दशमलव १६ प्रतिशत
बैंक, वित्तीय संस्थाहरूले कर्जा प्रवाहभन्दा निक्षेप बढी संकलन गर्दै आएकोमा चालू आवको माघसम्म आइपुग्दा यो प्रवृत्तिमा परिवर्तन आएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड रुपैयाँ (३ दशमलव ८ प्रतिशत) ले बढेको छ ।
वैदेशिक व्यापारमा बैंकहरूको कर्जा प्रवाह बढेका कारण समग्र कर्जा प्रवाह बढेको हो । आव २०८१/८२ को ७ महीनामा कुल वस्तु निर्यात ४६ दशमलव ५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यसै अवधिमा कुल वस्तु आयात पनि १० दशमलव १ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ ।
उद्योगी, व्यापारीले सामान आयात गर्ने ट्रस्ट रिसिप्ट (आयात) कर्जा चालू आवको माघमा ६९ दशमलव ५ प्रतिशतले बढेको छ । गत आवको असारसम्ममा आयातमा बैंकहरूले ८२ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा माघसम्ममा बढेर १ खर्ब ४० अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यसबाहेक असारको तुलनामा माघसम्ममा मार्जिन प्रकृतिको कर्जा (शेयर धितो कर्जा) २७ दशमलव ८, हायर पर्चेज कर्जा ४ दशमलव ५ र नगद प्रवाह कर्जा ३ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।
असारको तुलनामा बैंकहरूको विपन्न वर्गमा प्रवाह गर्ने कर्जा र ओभरड्राफ्ट कर्जा भने घटेको छ । राष्ट्र बैंकले विपन्न वर्गमा प्रवाह हुने कर्जामा कडाइ गरेपछि बैंकहरूको लगानी घट्न थालेको हो । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल वैदेशिक व्यापार वृद्धि हुँदा बैंकहरूको कर्जा प्रवाह बढेको बताउँछन् । ‘आयात र निर्यात बढेसँगै बैंकहरूको कर्जा प्रवाहमा केही वृद्धि देखिएको छ,’ उनले भने, ‘केही कर्जा शेयर बजार, घरजग्गा र सवारीसाधन खरीदमा पनि गएको देखिन्छ ।’
यसैगरी बैंकहरूको ब्याजदर पनि घटेर न्यून विन्दुमा झरेको छ । २०८१ माघमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ८ दशमलव ५५, विकास बैंकहरूको ९ दशमलव ९० र वित्त कम्पनीहरूको १० दशमलव ८८ प्रतिशत कायम भएको छ । २०८० माघमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ११ दशमलव शून्य ८, विकास बैंकहरूको १२ दशमलव ८५ र वित्त कम्पनीहरूको १३ दशमलव ९३ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघसम्ममा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ दशमलव ३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ ।
माघसम्ममा चालू खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब २४ करोड रुपैयाँले बचतमा छ ।
यस्तै २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति १६ दशमलव १ प्रतिशतले वृद्धि भई २०८१ माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असारमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ माघमा ११ दशमलव ७ प्रतिशतले वृद्धि भई १७ अर्ब ५ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । आव २०८१/८२ को ७ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति १७ दशमलव २ महीनाको वस्तु आयात र १४ दशमलव ४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसैगरी चालू आवको माघमा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) भने घटेको छ । माघमा मुद्रास्फीति दर ४ दशमलव १६ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष सोही महीनामा मुद्रास्फीति ५ दशमलव शून्य १ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।