काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. २ करोड ९ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ३९ लाख ६५ हजार नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले र सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ६५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. २ करोड २३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ७७ लाख ९० हजारमा सीमित भएको हो । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवमा रू. १२ लाख ४५ हजार धनात्मक रहेकोमा चालू आवमा रू. २ करोड ४२ लाख ऋणात्मक रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १३ करोड ३१ लाख छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा रू. ७ करोड ८८ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ४ करोड सापटी लिएर, रू. ७० करोड ९५ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ८२ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।
कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९० पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको तरलता अनुपात ३० दशलमव ३९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव २१ रहेको छ ।