काठमाडौं । झन्डै ११ महीना रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई आगामी चार वर्षका लागि सेबोन अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
स्याङ्जा घर भएका श्रेष्ठ सिफारिश समितिले गरेको सिफारिशमा पनि पहिलो नम्बरमा थिए । दोस्रो नम्बरमा मुक्तिनारायण श्रेष्ठ र तेस्रो नम्बरमा डा. नवराज अधिकारीलाई सिफारिश गरिएको सिफारिश समितिका एक सदस्यले जानाकारी दिए ।
काठमाडौं विश्वविद्यालयबाट बीबीए र एमबीए गरेका श्रेष्ठले यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालकको रूपमा समेत काम गरेको अनुभव छ । साथै विभिन्न वित्तीय संस्थामा समेत लामो समय अध्यक्ष पदमा रहेर काम गरेको अनुभव श्रेष्ठसँग छ ।
गत पुस २० गतेदेखि बोर्डमा अध्यक्ष पद रिक्त छ । सेबोनमा अध्यक्ष नहुँदा सार्वजनिक निष्कासनको अनुमति प्रक्रिया धेरै हदसम्म अवरुद्ध भएको छ ।
गत माघ २ गते नै बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन गरी सरकारले पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो ।
शुरूदेखि नै सन्तोषनारायणलाई अध्यक्ष बनाउने निश्चय सरकारले गरिसकेको हल्ला चलेसँगै अन्तिम छनोटमा परेका पाँच जनामध्ये पहिलो चरणको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्तामा तीन जना अनुपस्थित भएका थिए ।
उक्त अन्तरवार्तामा सन्तोषनारायण र मुक्तिनारायण मात्र सहभागी भएका थिए । फलस्वरुप सिफारिश समितिले नियुक्ति प्रक्रिया खारेज गरेको थियो । त्यसविरुद्ध सन्तोषनारायणले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए । अदालतले पनि नियुक्ति प्रक्रिया नरोक्न आदेश दिएको थियो ।
त्यसपछि गत आइतवार बिहान पहिले अनुपस्थित भएका तीन जना डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईं र कृष्णबहादुर कार्कीमध्ये अधिकारी र कार्की प्रस्तुतीकरण र अन्तरवार्तामा सामेल भएका थिए । यसबाट नियुक्तिको बाटो खुलेको हो । विगतमा सन्तोषनारायणलाई एउटा व्यापारिक समूहको स्वार्थमा अध्यक्ष बनाउन लागिएको चर्चा चलेको थियो ।