काठमाडौं । निर्धन संस्थाको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजकत्वमा धनुषामा व्यावसायिक भैंसी तथा गाईपालन तालिम शुरु भएको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको धनुषाधामका ३१ ग्राहक सदस्यहरूका लागि गत मंगलवारबाट तालिम शुरु भएको हो । तालिम आगामी बिहीवारसम्म चल्नेछ ।
तालिमको उद्घाटन धनुषाधाम नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जयनारायण यादवले गरे । उनले दीप प्रज्जवलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा निर्धन सस्थाका उपाध्यक्ष जनार्दन देव पन्त र निर्धन संस्थाका कार्यकारी अधिकृत अञ्जु पाण्डे रहेका थिए ।
कार्यक्रममा उपाध्यक्ष पन्तले वडाअध्यक्ष यादवलाई व्यावसायिक परियोजना तथा वित्तीय साक्षरतासम्बन्धी पुस्तक प्रदान गरेका थिए ।
वडाअध्यक्ष यादवले तालिमले पशुपालन व्यवसायमार्फत स्थानीयको आय वृद्धि हुने अपेक्षा गरे ।
संस्थाका उपाध्यक्ष पन्तले तालिममा उद्यमीको क्षमता र सम्भावना अनुसार उचित शीप, स्रोत, साधन र बजारको पहुँच पु¥याउनु नै महत्त्वपूर्ण हुने र सोका लागि शीप विकास तालिम अति नै आवश्यक भएको बताए । उनले हाल ग्राहक सदस्यहरूले १–२ वटा भैंसी तथा गाईपालन गरेर आफ्नो जीविकोपार्जन गर्ने गरेकोमा शीप विकाससम्बन्धी व्यावसायिक शिक्षा लिई यसैलाई व्यवसाय बनाउन सकेमा वैदेशिक रोजगारीमा समेत जान नपर्ने बताए ।
निर्धन संस्थाका कार्यकारी अधिकृत पाण्डेले तालिमको माध्यमबाट शीप तथा ज्ञान हासिल गरेर निर्वाहमुखीबाट व्यवसायिक रूपमा पशुपालन गरी लघुउद्यमी बन्न प्रेरणा दिइन् । यसका लागि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समेत वित्तीय सहयोग उनले प्रतिबद्धता गरिन् ।
कार्यक्रमको सभापतित्व सहभागीहरूको तर्फबाट सुशीला कुमारी सिंहले गरेकी थिइन् ।
कार्यक्रममा निर्धन उत्थान लघुवित्त संस्थाका क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत प्रदिप कुमार दास र शाखा कार्यालयका प्रमुख दुर्गानन्द कुमार दासको उपस्थिति रहेको थियो ।
तालिममा धनुषाधाम नगरपालिकाका पशु प्रमुख विष्णु देव यादव र प्राविधिक विरेन्द्र कुमार यादवले प्रशिक्षण दिनेछन् । आयोजकका तर्फबाट निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिस रत्न कोनाजोले तालिममा सहजीकरण गर्नेछन् ।