चितवन। चितवनका पर्यटन व्यवसायीले चितवनको पर्यटन विकासका लागि पर्यटन प्याकेजमा जोड दिनुपर्ने बताएका छन् । चितवन महोत्सवको सन्दर्भमा आइतवार उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित ‘चितवनको दिगो पर्यटन विकासमा सरोकारवालाको भूमिका’ विषयक गोष्ठीमा सरोकारवालाले चितवनका सबै पर्यटकीय गन्तव्यलाई समानुपातिक रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् ।
चितवनका पर्यटकीय क्षेत्र सौराहा, मेघौली, पटिहानी, माडी, इच्छाकामना क्षेत्र लगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर दिगो पर्यटन विकास लाग्नुपर्नेमा उनीहरूको जोड थियो । कार्यक्रमका स्रोत व्यक्ति एवम् पर्यटन विज्ञ विश्वराज सुवेदीले चितवनका प्रमुख पर्यटकीय गन्तव्यको पछिल्लो अवस्थाको बारेमा प्रस्तुति दिएका थिए । उनले चितवनमा एकीकृत तथा दिगो पर्यटन विकासका लागि चितवनमा पर्यटन आकर्षणका प्रडक्ट थप्नुपर्ने, विमानस्थल विस्तार गर्नुपर्ने, चितवनको कुनै एक ठाउँलाई तोकेर त्यहाँ रात्रिकालीन व्यवसाय शुरू गर्नुपर्ने, जिल्लाभर एकीकृत पर्यटन विकास गर्नुपर्ने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नुपर्ने लगायत विविध सुझाव राखेका थिए । पटिहानी र मेघौलीका सहभागीले पर्यटकीय गन्तव्यको प्रचार र विकास गर्दा अस्वस्थ प्रतिस्पर्र्धी नगरी सहकार्य गर्नुपर्ने सुझाए ।
माडीका पर्यटनकर्मीहरूले चितवन राष्ट्रिय निकुञ्जका कारण सौराहा तेस्रो पर्यटकीय गन्तव्य बनेको, तर निकुञ्जकै कारण माडीको पर्यटन पछाडि परेको बताए । गोष्ठीमा सहभागी अन्य सरोकारवालाले पर्यटन गाइडलाई समयसमयमा तालीम दिइनुपर्ने, बाह्य पर्यटकका लागि आन्तरिक हवाई भाडा कम हुनुपर्ने, रैथाने खानालाई ब्राण्डिङ गर्नुपर्ने, कोदोको मनोरञ्जन पार्क बनाउनुपर्ने, चीन र भारतका पर्यटकलाई लक्षित गरी कार्यक्रम ल्याइनुपर्ने, विदेशी पर्यटक नेपाल आउँदा विमानको सहज व्यवस्थापनमा राज्यले पहल गर्नुपर्ने धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुकेले पर्यटन व्यवसायीबीच सहकार्य र समन्वय अभावले यस क्षेत्रको वृद्धि, विकासमा बाधा पुगेको टिप्पणी गरे । पर्यटन मन्त्रालयले पनि पर्यटन विकासमा प्रभावकारी काम गर्न नसकेको भन्दै उनले देशको पर्यटन विकासमा राज्य बढी जिम्मेवार हुन नसकेको धारणा राखे ।
गोष्ठीमा सहभागीलाई उवासंघ, चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक सुमनकुमार श्रेष्ठले स्वागत गर्दै राज्यका विविध नीतिका कारण चितवन महोत्सवमा आफूहरूले सोचे जसरी पर्यटन प्रवर्द्धन गर्न नपाएको बताए ।
चितवनमा पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको र यसले चितवनको पर्यटन विकासलाई दिगो बनाउने उनले बताए । निकुञ्जमा जंगल सफारीका लागि सौराहसँगै पटिहानी र मेघौली पनि रहेकोमा यसको एकीकृत प्रचार हुनुपर्नेमा उनको जोड थियो । त्यसैगरी होमस्टेको विकास गरी पर्यटकको बसाइ लम्ब्याउनतर्फ सबै क्षेत्रका व्यवसायी एकजुट भएर लाग्नुपर्ने उनको धारणा थियो ।