काठमाडौं । वित्तीय सूचकहरू खराब हुँदै गएपछि एन.आई.सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले राजीनामा दिएको विभिन्न स्रोतहरूले बताएका छन् । बैंक तथा राष्ट्र बैंक स्रोतका अनुसार उनले हालै राजीनामा बुझाए पनि सञ्चालक समितिले स्वीकृत गरिसकेको छैन ।
२०७५ मङ्सिरमा सीईओ नियुक्त भएका न्यौपानेलाई २०७९ कात्तिकमा पुन: निरन्तरता दिइएको थियो । कार्यकाल २०८३ कात्तिकसम्म रहे पनि बैंकको अवस्था बिग्रन थालेपछि उनी बीचमै बाहिरिन खोजेका हुन् । तर, न्यौपानेले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको र त्यसबाट बैंकमा समस्या देखिन थालेको बेला उनी बाहिरिँदा नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले तत्कालै राजीनामा स्वीकृत गर्न नचाहेको स्रोतहरूले बताएका छन् ।
न्यौपाने सीईओ बनेपछि बैंक व्यवसाय विस्तारमा आक्रामक रूपमा लागेको थियो । उनको नेतृत्वमा व्यवसाय बढाउने नाममा जथाभावी कर्जा प्रवाह गरेपछि बैंकको सूचक बिग्रिँदै गएको हो ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्ममा खुद नाफा ९३ दशमलव शून्य ३ प्रतिशतले घटेको छ । आव २०८०/८१ को पुससम्ममा १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको बैंकले आव २०८१/८२ को सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।
वितरणयोग्य नाफा ऋणात्मक रहेको बैंकको खराब कर्जा पनि ह्वात्तै बढेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा १ दशमलव १९ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव ६१ प्रतिशत पुगेको छ ।
बैंकको सूचकहरू बिग्रिँदा लगानीकर्ताको हात पनि खाली हुँदै आएको छ । बैंकले गत आव २०८०/८१ को नाफाबाट लाभांश वितरण गरेको छैन । यसअघि बैंकले राष्ट्र बैंकले तोकेअनुसार प्राथमिक पूँजीकोष कायम गर्न नसक्दा आव २०७७/७८ र २०७८/७९ मा लाभांश वितरण गर्न पाएको थिएन ।
आव २०७९/८० मा एन.आई.सी. एशियाले २९ प्रतिशत बोनस शेयर र १ दशमलव ५२ प्रतिशत नगद गरी ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आवको दोस्रो त्रैमासमा यसका सीईओका साथै सञ्चालकलाई कारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार यसले सञ्चालक तथा परिवारका सदस्य एवं सम्बद्घ संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको पाइएको छ ।
यस्तै बैंकका सञ्चालक, तिनका परिवारका सदस्य एवं सम्बद्घ संस्थाको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा ब्याज फिर्ता गराइएको र आगामी दिनमा यस प्रकारका काम नगर्ने गरी सीईओ न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालकद्वय त्रिलोकचन्द्र अग्रवाल तथा रामचन्द्र संघईलाई नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिइएको राष्ट्र बैंकले बताएको छ ।
यसैगरी स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पूँजीकोष तथा जोखिमभार, ब्याजदर एवं संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशन पालना गरेको नपाइएकाले परिपालना गर्न एवं सुधारको कार्ययोजना बनाई लागू गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । बैंकले गतवर्ष अन्य क्षेत्रको कर्जालाई आवासीय कर्जा शीर्षकमा परिवर्तन गरेको भन्दै राष्ट्र बैंकले स्थलगत अनुसन्धान गरेको थियो । यसैगरी नाफा देखाउन लघुवित्तलाई ऋण दिने, भोलि फिर्ता गरेर सेवा शुल्क उठाउने गरेको आरोपसमेत यो बैंकलाई लागेको छ ।