काठमाडौं। नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ ओटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरेको हो ।
बैंकले एक कार्यक्रम आयोजना गरी गत हप्ता नलगाड–१ का वडाध्यक्ष धनबहादुर महर र चौरजहारी–१ का वडाध्यक्ष इन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको बताइएको छ । अस्थायी आवासमा बसोबास गर्दै आएका वृद्धवृद्धा, बालबालिका र सुत्केरीको स्वास्थ्यमा पर्न सक्ने समस्यालाई ध्यानमा राखेर कम्बल वितरण गरिएको बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का भूकम्पपीडितका लागि ४९ ओटा अस्थायी आवास निर्माण गरेको बताइएको छ । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि यसपटक कम्बल वितरण गरिएको बैंकले जानकारी दिएको छ ।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको बताइएको छ । बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको बताइएको छ ।