काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक ६ दशमलव ७८ अंक बढेर २ हजार ६०७ दशमलव ९९ विन्दुमा कायम भएको हो ।
बजार बढ्दा कारोबार रकमसमेत बढेको छ । अघिल्लो कारोबार दिन रू. ६ अर्ब २५ करोड बराबरको कारोबार भएकोमा आज रू. ६ अर्ब ५७ करोड बराबरको कारोबार भएको हो ।
आज अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । विवरण अनुसार वाणिज्य बैंकहरूको नाफा घटेको छ । समग्रमा करीब साढे ४ प्रतिशतले नाफा घटेको हो ।
त्यस्तै राष्ट्रियस्तरका विकास बैंकहरूले मुनाफा वृद्धि गरेका छन् । ती बैंकहरू समग्रमा झन्डै १५ प्रतिशत मुनाफा वृद्धि गर्न सफल भएका छन् ।
यसकारण आम लगानीकर्ताहरू सकारात्मक भएपछि बजार बढेको जानकारहरूको बुझाइ छ । यसो त केही समयदेखि घटेको बजारमा कम्पनीहरूको शेयर मूल्य तल्लो विन्दुमा आएको थियो । यस कारण पनि खरीदकर्ता आकर्षित भएको लगानीकर्ता बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ०३ प्रतिशत वृद्धि भएको छ ।
आज ३११ धितोपत्रको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर ७४ हजार ४०३ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ०५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ३२५ पुगेको छ ।
रिभर फल्स पावरको शेयर मूल्य ७ दशमलव ७० प्रतिशत बढेर रू. १ हजार ३२८ पुगेको छ ।
सोमवार विन नेपाल लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ९७० र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य रू. १ हजार ३२८ दशमलव ४० मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा रिभर फल्स पावरले ओगटेको छ । यस कम्पनीको रू. २४ करोड १ लाख बराबरको कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन पावर पार्टनरको रू. १८ करोड २० लाख बराबरको भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ४८७ कायम भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये आठ समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये अन्य समूहको सूचक सबैभन्दा बढी २ दशलमव १३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ । वित्त समूहको सूचक भने सबैभन्दा बढी २ दशलमव ५४ प्रतिशत घटेको छ ।