काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १५ दशमलव ४५ प्रतिशत घटेको छ । बैंकले गत आवको दोस्रो त्रैमासमा रू. ७८ करोड २७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ६६ करोड १८ लाखमा सीमित भएको छ ।
चालू आवमा बैंकको इम्पेयरमेन्ट चार्ज बढेकाले सञ्चालन नाफा घटेसँगै नाफा घट्न पुगेको हो । गत आवमा बैंकको इम्पेयरमेन्ट चार्ज रू. ८५ करोड ९५ लाख रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ३८ करोड पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेसँगै बैंकको सञ्चालन नाफा १६ प्रतिशत घटेको छ । गत आवमा बैंकको सञ्चालन नाफा रू. १ अर्ब ८ करोड रहेकोमा चालू आवमा रू. ९१ करोड १३ लाखमा झरेको छ ।
त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ८ दशमलव २६ प्रतिशत वृद्धि भएको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी रू. २ अर्ब ८३ करोड रहेकोमा चालू आवमा रू. ३ अर्ब ७ करोडभन्दा बढी पुगेको छ ।
चालू आवमा बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ २ पैसा रहेकोमा चालू आवमा ८ रुपैयाँ ९६ पैसामा झरेको छ ।
बैंकको चुक्ता पूँजी रू. १४ अर्ब ७६ करोड छ । बैंकले जगेडा कोषमा रू. ७ अर्ब २८ करोड, रिटेन्ड अर्निङमा रू. १५ करोड ८१ लाख सञ्चिति गरेको छ । बैंकको वितरणयोग्य नाफा रू. ८२ करोड २१ लाख ऋणात्मक रहेको छ ।
दोस्रो त्रैमाससम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३ दशमलव ५३ गुणा, तरलता अनुपात २४ दशमलव ९० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव ३९ रहेको छ ।