काठमाडौं । सबैजसो वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेकाले त्यसको प्रोभिजन थप्नु पर्दा उनीहरूको नाफामा प्रत्यक्ष असर परेको देखिएको छ । २० बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्मको तुलनामा यस आवको सोही अवधिमा उनीहरूको नाफा ४ दशमलव ६२ प्रतिशतले घटेको छ । गत आवको उक्त अवधिमा वाणिज्य बैंकहरूले २८ अर्ब ७६ करोड रुपैयाँ बराबर खुद नाफा कमाएकोमा यसपालि घटेर २७ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । यस वर्ष २० वाणिज्य बैंकमध्ये ११ ओटाको खुद नाफा बढेको र ९ ओटाको घटेको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले कर्जा असुलीमा समस्या हुँदा निष्क्रिय कर्जा बढेको र त्यसको प्रोभिजनिङ पनि बढेकाले नाफामा असर गरेको बताए । एभरेष्टबाहेक सबै वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ । कतिपय बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत नाघेको अवस्था छ । ‘अहिले कर्जा असुली कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सबै बैंक लागिपरेका छन्,’ कोइरालाले भने, ‘अहिले बजारमा देखिएको चुनौतीबीच पनि बैंकहरूको अहिलेको अवस्था हेर्दा सन्तोष मान्नुपर्ने स्थिति छ ।’
कतिपय बैंकको नाफा व्यापक घटेको छ । एन.आई.सी. एशिया बैंकको खुद नाफा यस वर्ष गतवर्षको तुलनामा ९२ दशमलव शून्य ३ प्रतिशतले घटेको छ । गतवर्ष दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको यो बैंकले यस वर्ष १५ करोड रुपैयाँभन्दा केही बढी मात्र खुद नाफा गरेको हो । उक्त बैंककोे निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासमा १ दशमलव १९ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ६१ प्रतिशत पुगेको छ । पूर्वबैंकर अनलराज भट्टराईका अनुसार अहिलेको अवस्था हेर्दा बैंकहरूको निष्क्रिय कर्जा ८ प्रतिशतसम्म पुग्ने देखिन्छ ।
चालू आवको दोस्रो त्रैमाससम्म बैंकहरूले कर्जा नोक्सानी व्यवस्था शीर्षकमा २४ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ व्यवस्था गरेको र यो रकम उनीहरूको कुल खुद नाफाको नजिकै रहेको भट्टराईले बताए । ‘कर्जा नोक्सानी व्यवस्था शीर्षकको रकम बढ्दा बैंकहरूको नाफामा असर परेको हो,’ उनले भने ।
निष्क्रिय कर्जा बढ्नुका अतिरिक्त वाणिज्य बैंकहरूको कर्जा विस्तार पनि सीमित छ । आर्थिक गतिविधि सुस्ताएका बेला कर्जाको माग खासै बढ्न नसकेको बैंकर बताउँछन् । यस वर्ष प्रभु बैंकले सबैभन्दा बढी ८५ दशमलव ४९ प्रतिशतले खुद नाफा बढाएको छ । गतवर्ष यस अवधिसम्म ७२ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको प्रभु बैंकले यस वर्ष १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । प्रभु बैंकको निष्क्रिय कर्जा शून्य दशमलव १६ प्रतिशत बिन्दुले मात्र बढेको देखिन्छ ।
गतवर्ष ४ दशमलव ९० प्रतिशत रहेको प्रभु बैंकको निष्क्रिय कर्जा यस वर्ष ५ दशमलव शून्य ६ प्रतिशत कायम भएको छ । यस वर्ष एभरेष्टबाहेक सबै बैंकको निष्क्रिय कर्जा बढेको तथ्यांकले देखाउँछ । एभरेष्ट बैंकको गतवर्ष दोस्रो त्रैमाससम्म शून्य दशमलव ७७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ११ प्रतिशत बिन्दुले घटेर शून्य दशमलव ६६ प्रतिशत कायम भएको छ ।
दोस्रो त्रैमाससम्मको अवस्थामा कुमारी बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी ६ दशमलव ९६ प्रतिशत छ भने प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा र लक्ष्मी सन्राइज बैंकको ५ प्रतिशतभन्दा माथि छ ।