असार २९, काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ बुधवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको कूल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ ।
नेप्सेले पहिलो कारोबारको लागि रू. १०२ दशमलव ३९ देखि ३०७ दशमलव १७ ओपन रेञ्ज तोकेको छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको १० लाख ५४ हजार २६० कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको १८ लाख ९७ हजार ६६९ कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ७५ लाख ९० हजार ६७५ कित्ता गरेर कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीले सूचीकृतपश्चात दिनुपर्ने आरटिएस सेवा दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड, त्रिपुरेश्वर काठमाडौंबाट हुने नेप्सेमार्फत जानकारी दिएको छ । कम्पनीको आईपीओ गत असार ८ गते बाँडफाँट भएको थियो । १४ लाख ७१ हजार ६६५ जनाले आवेदन दिएकोमा भाग्यमानी २ लाख १ हजार ९८६ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए भने ९ जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका थिए ।