काठमाडौं । नेपालको फोनपे र भारतको यूपीआईबीच सन् २०२४ को मार्चमा शुरू भएको अन्तरसञ्चालनले हालसम्म ४ लाखभन्दा बढी पटक कारोबार भएको तथ्यांक सार्वजनिक भएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ को लागि ‘कर्टेन रेजर’कार्यक्रम अन्तर्गत दोस्रो भारत–नेपाल स्टार्टअप कनेक्ट कार्यक्रम यो तथ्यांक बारे जानकारी गराइएको हो । जसलाई डिजिटल कनेक्टिभिटीको उत्कृष्ट उदाहरण भएको बताइएको छ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतमा बढ्दो स्टार्टअप संस्कृति र डिजिटल परिवर्तनबारे चर्चा गर्दै डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डीपीआई) सीमापार सहयोगको महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गरे।
भारत सरकारको डीपीआईआईटीका संयुक्त सचिव सञ्जीवले भारतमा आगामी अप्रिल ३ देखि ५ सम्म हुन लागेको स्टार्टअप महाकुम्भ २०२५ को महत्त्वबारे जानकारी गराउँदै यसलाई दक्षिण एसियाली क्षेत्रका स्टार्टअपहरूका लागि प्रमुख प्रवर्द्धनात्मक कार्यक्रमको रूपमा परिभाषित गरिएको छ ।
कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उदीयमान प्रविधिहरूको महत्त्वलाई स्वीकार गर्दै स्टार्टअपहरूका लागि नयाँ अवसर सिर्जना गर्न नेपाल सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए । उनले नेपाल–भारत सम्बन्ध स्मरमरण गर्दै एसएमके २०२५ मा नेपाली उद्यमीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा 'उदीयमान प्रविधि र स्टार्टअप अवसरहरू' शिर्षकमा प्यनलगत छलफल समेत भएको थियो । छलफलमा सहभागी विशेषज्ञहरूले नेपाल र भारतका स्टार्टअप इकोसिस्टममा नवप्रवर्तन तथा प्रविधिको भूमिकाबारे चर्चा गरेका थिए । सामाजिक प्रभावका लागि डिजिटल पब्लिक पूर्वाधार (डीपीआई) को महत्त्व, सीमापार स्टार्टअप विस्तारका लागि नेपाल–भारत अनुकूल बजार, प्रविधिको माध्यमबाट सामाजिक चुनौतीहरूको प्रभावकारी समाधान, नेपाली स्टार्टअपहरूले भारतको स्टार्टअप फन्डिङ तथा मेन्टरशिप इकोसिस्टमको लाभ उठाउन सक्ने अवसर लगायतमा चर्चा गरिएको थियो ।
आइआईटी मद्रास र त्रिभुवन/काठमाडौं विश्वविद्यालयबीचको सहकार्यले स्टार्टअप इन्क्युबेशनलाई थप बलियो बनाउने तथा एसएमके २०२५ मा नेपाली स्टार्टअपहरूको उत्साहजनक सहभागिता बारेमा पनि विशेष छलफल भएको थियो
यस अवसरमा भारतीय राजदूतावासले नेपाल–भारत स्टार्टअप सहकार्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। सन् २०२३ मा पहिलो भारत-नेपाल स्टार्टअप कनेक्ट सफलतापूर्वक सम्पन्न भएको आधारमा यस कार्यक्रमले द्विपक्षीय उद्यमशीलता संलग्नतालाई थप बलियो बनाएको छ।
भारतीय दूतावासले नेपालका शैक्षिक संस्था, स्टार्टअप तथा लगानीकर्ताहरूलाई एसएमके २०२५ मा सहभागी भई भारतीय स्टार्टअप तथा इन्क्युबेटरसँग सहकार्यका अवसरहरू खोज्न प्रोत्साहित गरेको छ। यस अवसरमा नेपाल–भारत स्टार्टअप सम्बन्धलाई सुदृढ गर्दै भारत सरकार, स्टार्टअप इण्डिया, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नास–आईटी), फिनटेक एलायन्स अफ नेपाल (फ्यान) लगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।