काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १०औं र ११औं वार्षिक साधारणसभा पुस ५ गते एकैपटक गर्ने भएको छ । सभा कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ९ बजे शुरू हुनेछ ।
कम्पनीले सभाका लागि लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै सामाजिक उत्तरदायित्व वहन गर्दा सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्नेछ ।
साथै सभाले गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सञ्चालकको सेवा सुविधाबारे पनि छलफल गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसको आधारमा मङ्सिर २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछन् ।