काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले यही मङ्सिर २८ गते एकैपटक २७ औं र २८ औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजे शुरू हुनेछ ।
कम्पनीले सभाका लागि लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्ष (आव) २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साथै गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ । त्यसैगरी विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र रिक्त पदमा २ जना सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर १८ गतेसम्म नेप्सेमा कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।