काठमाडौं । दुई वाणिज्य बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंक र नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी दुई बैंकले लाभांश प्रस्ताव पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् । सो सभा प्रयोजनका लागि बिहीवार बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्ने भएका हुन् ।
नबिल बैंक लिमिटेडले ३९औं वार्षिक साधारण सभा पुस १२ गते बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा उक्त दिन बिहान १० बजे शुरु हुनेछ । सभाले बैंक र बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलरको गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २ अर्ब ९७ करोड ६२ लाख ६९ हजार ६४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।
त्यस्तै नेपाल एसबिआई बैंकले पुस १३ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अपिसर्स क्लब, भद्रकाली, काठमाडौंमा उक्त दिन बिहान ११ बजे हुनेछ ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँको आधारमा कुल १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमा ३ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ दशमलव ८० प्रतिशत नगद लाभांश छ ।